बैंकिङ खबर । यतिबेला विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । २०१९ डिसेम्बरमा चिनमा देखा परेको यो भाइरस अहिले संसारका थुप्रै देशहरुमा फैलिरहेको छ । नेपालमा हालसम्म फैलिसकेको नभएतापनि जोखिम भने उच्च रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको यस भाइरसका कारण अन्तर्राष्ट्रिय अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । देशहरुबीचको व्यापार नै ठप्प पार्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालमा यसको प्रभाव झन् उल्लेख्य रुपमा परेको छ । २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सुरु गरिएको भिजिट नेपाल २०२० नै स्थगित गर्नुपरेका कारण यस कार्यक्रमका लागि गरिएको लगानी र योजना खेर गएको छ ।
अर्थतन्त्रकै एक महत्वपूर्ण अंग भएका कारण नेपालको बैंकिङ क्षेत्र पनि यस महामारीको प्रभावबाट अछुतो रहन सक्दैन । देशमा आवतजावत नै बन्द गरेपछि पर्यटन क्षेत्रबाट भित्रिने रकममा कमी आउने देखिएको छ भने लगानीका क्षेत्रहरु पनि घट्नेछन् । विदेशी सामानमा निर्भर भएका व्यवसायहरु बन्द हुने अवस्थामा पुग्नेछन्, जसकारण आर्थिक कारोबार घट्न गई बैंकिङ क्षेत्र प्रभावित हुने देखिन्छ ।
रेमिट्यान्स प्रभावित
रेमिट्यान्स आप्रवाहमा यसको झन् ठूलो प्रभाव देखिनेछ । वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा असर पर्न गई आम्दानी बन्द हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । रेमिट्यान्सले नै धानेको नेपालको अर्थतन्त्रमा यसको ठूलो असर पर्ने देखिन्छ । चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तरराष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स र पर्यटन व्यवसायमा पर्ने असरका कारण विदेशी मुद्रा संचितिमा असर पर्न जान्छ ।
हालसम्म नेपालमा संक्रमण फौलिनसकेको कारण यससँग जुझ्नका लागि तयार रहने समय हामीलाई प्राप्त भएको छ । यद्यपि, बाहिरी दृशमै भएको संक्रमणका कारण परेको असरलाई रोक्न सम्भव छैन । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने घोषणा गरिसकेको छ । यसले कोरोना भाइरसका कारण वित्तीय क्षेत्रमा हुने क्षति क मगर्न केही सहयोगी भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।