२०७६ फाल्गुन २१ गते

बंगलादेशका बैंक खराब कर्जाको दलदलमा, पूर्वगभर्नरले सुझाए समाधानको उपाय

बैंकिङ खबर । बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जा वृद्धिको समस्या बढ्दै गइरहेको छ । समयमा नै यसतर्फ ध्यान नदिए वित्तीय क्षेत्रमा ठूलो संकट आइपर्नेतर्फ विज्ञहरुले ध्यानाकर्षण गराएका छन् ।

बंगलादेश बैंकको केन्द्रीय बैंक बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतिउर रहमानले बैंकिङ क्षेत्रको दयनीय अवस्थाको जिम्मेवार बैंक संचालक एवम् व्यवसायी र कानुन निर्माताबीचको सम्बन्ध र न्यायी पूर्वाधारको अभावलाई मानेका छन् । उनले यो सम्बन्ध नतोडे वित्तीय क्षेत्रको नैतिकता भंग हुने चेतावनी समेत दिएका छन् ।

बैंकिङ क्षेत्रमा निष्कृय कर्जाको मात्रा अत्याधिक भएको तथ्य प्रस्तुत गर्दै उनले यस्तो कर्जा विश्वसनीयता र पारदर्शीता कम भएका ट्रेड फाइनान्सबाट उत्पत्ति भएका वित्तीय संस्थामा धेरै रहेको समेत बताए । यस्तो कर्जालाई शंकास्पद नाम दिँदै उनले भने, “यस्तै कर्जाका कारण पहिलेदेखि नै समस्यामा रहेको तरलता अवस्थामा झन् दबाब सिर्जना भएको छ ।” छोटो अवधिका लागि सिमित व्यक्तिको चाहनाअनुसार कृतिम त्रासको अवस्था सिर्जना गर्न छोडेर बैंकिङ क्षेत्रमा प्रतिष्पर्धाको दीर्घकालीन फाइदामा केन्द्रीत रहने हो भने वित्तीय क्षेत्रमा विद्यमान चुनौतीहरुको सहजै सामना गर्न सकिने उनको तर्क छ ।

प्राइभेट बैंकहरुले सुरुमा नै आक्रामक रुपमा कर्जा प्रवाह गरेका कारण यस्तो असन्तुलन देखिएको भन्दै उनले नियामकले जोखिम केन्द्रीत सुपरभिजनमार्फत बैंकिङ क्षेत्रको निरन्तर सुधारमा ध्यान दिनुपर्ने सुझाव डा.रहमानले दिएका छन् ।