February 26th, 2020

फस्र्ट माइक्रोफाइनान्सद्धारा साझेदार संस्थाका शाखा प्रबन्धकलार्ई तालिम

बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ज्ञानेश्वर काठमाण्डौले रुपन्देहीको बुटवलमा साझेदार लघुवित्त तथा सहकारी संस्थाका शाखा प्रबन्धकहरुलाई कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गरेको छ । उक्त तालिम कार्यक्रममा प्रदेश नं ३, ४ र ५ का ३४ साझेदार संस्थाका ४६ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका का.मु. नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले सहभागीहरुलाई स्वागत गर्दै साझेदार संस्थाका लागि कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गर्नुको आवश्यकता तथा उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । तालिम कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नविल बैक बुटबलका शाखा कार्यालयका शाखा प्रबन्धक सन्तोष पाण्डेले धितो लिलाम सम्बन्धी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सहायक प्रबन्धक ज्ञानेन्द्र वाग्लेले कर्जा विश्लेषण तथा ऋण सदुपयोगिता, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले कर्जा जोखिम विश्लेषण र बरिष्ठ प्रबन्धक बाबुराम न्यौपानेले भाखा नाघेको ऋण व्यवस्थापन विषयमा सहजीकरण गर्नु भएको थियो । तालिमवाट सहभागीहरुले आगामी दिनमा प्रभावकारी ढंगले कर्जा लगानी गर्न तथा असुलीका लागि टेवा पुग्ने विचार राखेका थिए ।