February 19th, 2020

‘मर्जरले वित्तीय क्षेत्रमा स्थायीत्व कायम गरेको छ’ : गभर्नर

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरंजीबि नेपालले पुँजी वृद्धि र मर्जर नीतिका कारण वित्तीय क्षेत्र बलियो भएको बताएका छन् । बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले धेरै चुनौतीको सामना गरी अख्तियार गरेको पुँजी वृद्धि र मर्जर नीतिले वित्तीय क्षेत्रमा स्थायित्व कायम गरेको बताए ।

आफ्नो कार्यकालमा झन्डै २०० वटा वित्तीय संस्था मर्जरमा गएर ४५ कायम भएको तथ्यांक प्रस्तुत गर्नै उनले मर्जरका कारण बैंकको नाफाका साथमा कर्मचारीको एफिसियन्सी पनि बढेको जानकारी दिए ।

मर्जरले बैंकिङ क्षेत्रमा ल्याएको स्थायीत्वमा बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्तले पनि समर्थन जनाए । लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर बनेको बैंक अफ काठमाण्डूमा कर्मचारीको एफिसियन्सी मर्जरअघिको भन्दा ८८ प्रतिशत बढेको समेत उनले जानकारी दिए ।

गभर्नर डा.नेपालले आफू गभर्नर भएर राष्ट्र बैंक जाँदा १६ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेको स्मरण गराउँदै हाल तीमध्ये १४ वटा संस्था समस्याग्रस्तबाट फुकुवा भई सञ्चालनमा आइसकेको र बलियो पनि भएको जानकारी दिए । बैंकिङ क्षेत्रमा अबको चुनौती साइबर आक्रमण रहेको र यसप्रति राष्ट्र बैंक सचेत रहेको पनि उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]