February 16th, 2020

बैंकमा खाता खोल्नुका फाइदाहरु

बैंकिङ खबर । हालको समयमा थुप्रै मुलुकहरु क्यासलेश भइसकेका छन् । कुनै पनि कारोबार गर्नका लागि नोटको प्रयोग गर्नुनपर्ने अवस्था आइसकेको छ । सबै जनतामा बैंकिङ पहुँच पुगेको अवस्थामा मात्रै यस्तो अवस्था सम्भव छ । किनकि, बैंकमा खाता हुनेहरुले सिधै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, ट्रान्सफर, टिकट बुकिङ लगायत सबै काम गर्न सक्छन् । बैंकको कार्ड बोक्यो भने त्यही काडृलाई स्वाइप गरेको भरमा कारोबार हुन्छ । नेपालमा यस्तो अवस्था सुरुवाती चरणमा मात्रै छ ।

राष्ट्र बैंकको पछिल्लो अध्ययनले ६०.९ प्रतिशत जनतामा बैंकिङ पहुँच पुगेको र एक लाख ८० हजार निक्षेप खाता खोलिएको देखाएको छ । अझै थुप्रै सर्वसाधारणहरुले बैंकमा खाता खोलेका छैनन् । कतिलाई त बैंकमा खाता किन खोल्ने भन्ने कुराको जानकारी समेत छैन । बैंकमा खाता खोल्दा थुप्रै फाइदा हुन्छः

१. जहाँबाट जहिले पनि रकम बचत गर्न सकिने
बैंकमा खाता खोलेपछि थोरैथोरै रकम पनि बचत गर्न सकिन्छ । बचत गर्नका लागि जहाँ खाता खोलेको त्यहीँ पुग्नु पनि पर्दैन । आफूलाई अनकुल पर्ने जुनसुकै बैंकको जुनसुकै शााखाबाट पनि आफ्नो खातामा पैसा बचत गर्न सकिन्छ । थोरैदेखि धेरैसम्म जति रकम बचत गर्न पनि पाइन्छ ।

२. बचत गरेको रकमको व्याज पाइने
बैंकमा बचत गरेको रकमको व्याज पनि पाइन्छ । बैंकको नियमअनुसार व्याज दिने समय भएपछि सोही खातामा जम्मा हुन्छ । खातामा थोरै रकम भएपनि रेट अनुसारको व्याज आइरहन्छ । घरमै पैसा राखेको भए रकम बढ्नुको सट्टा झन् खर्च हुन्थ्यो ।

३. रकम हराउने र चोरिने डरबाट मुक्त
बैंकले तपाईँले राख्नुभएको रकमको सुरक्षा गरिदिन्छ । बैंकमा राखेको पैसा हराउने वा चोरिने डर कहिल्यै हुँदैन । मोबाइल, इन्टरनेट वा एसएमएस बैंकिङका माध्यमबाट आफ्नो खातामा भएका कारोबारको जानकारी पाइरहन सकिन्छ । बैंकको कार्ड बोकेपछि खल्तीमा नगद बोकेर हिँड्नु पनि पर्दैन ।

४. खाँचो पर्दा कसैको मुख ताक्न नपर्ने
बैंकमा राखेको पैसा आफ्नो आवश्यकता अनुसार चलाउन पनि पाइन्छ । चेकको माध्यमबाट बैंकमै गएर झिक्न पनि पाइन्छ भने एटीएममा गएर कार्डबाट निकाल्न पनि सकिन्छ । त्यसै, इन्टरनेट वा मोबाइल बैंकिङ प्रयोग गरी सिधै खाताबाट कारोबार गर्न पनि सकिन्छ । त्यसै खाताबाट सेयर खरिद गर्न समेत सकिन्छ ।

५. कर्जा निकाल्नु पर्दा सजिलो
बैंकमा आफ्नै खाता भएपनि चाहिएको समयमा कर्जा निकाल्न पनि सम्भव हुन्छ । आफ्नो खाता भएकै बैंकबाट कर्जा निकाल्दा कारोबार गर्न सहज हुन्छ । विश्वासीलो पनि हुन्छ ।

यसरी बैंकमा खाता खोलेपछि थुप्रै झन्झटबाट मुक्त भइन्छ । विजुली, पानी तथा इन्टरनेटको बील भुक्तानी, मोबाइल तथा टीभी रिचार्ज, अनलाइन सपिङ, पैसा ट्रान्सफर, हवाई वा बसको टिकट बुकिङ, सेयर खरिद लगायत सम्पूर्ण कार्यका लागि पैसा बोकेर कार्यालय पुगी लाइन बस्नुपर्ने झन्झट हुँदैन । तपाईँको बैंक खाता छ भने विदेशबाट पैसा पठाउनेलाई पनि सहज हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]