February 15th, 2020

इतिहास रच्ने संसारका अब्बल बैंकहरु

 

बैंकिङ खबर । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैंकको सुरुवात भइसकेको थियो । नजानिँदो रुपमा मानिसले पैसाको कारोबार धेरै पहिलेदेखि नै सुरु गरिसकेका थिए । यद्यपि, औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात गरि बैँकिङ इतिहास रच्ने श्रेय इटलीलाई जान्छ । सन् १४७२ मा इटलीमा संसारकै सबैभन्दा पहिलो बैंकको स्थापना भएको थियो । त्यपछिका दिनहरुमा बैँकिङ प्रणाली संख्यात्मक र गुणस्तरात्मक दुवै तवरले विकास हुँदै आइरहेको छ ।
संसारका पुराना पाँच बैंकहरु र तीनीहरुले सम्बन्धित देशमा पुर्याएको योगदानको चर्चा यहाँ गरिन्छः

बान्सा मोन्टे डीपस्सी डी सीना
इटलीको सीना सहरमा अवस्थित यो बैंक संसारकै सबैभन्दा पहिलो बैंक हो । सन् १४७२ मा स्थापना भएको यो बैंकको अहिलेको शैलीको स्थापना भने १६२४ मा भएको थियो । गरिबहरुलाई च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले सो बैंकको स्थापना गरिएको थियो । अहिले यो बैंक बीएमपिएसको नामले चर्चित छ । मुलुकभित्र दुई हजारभन्दा बढी शाखा रहेको यो बैंकमा २५ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

 

बेरेनबर्ग बैंक
१५९० मा स्थापित यो बैंक जर्मनीको मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक हो । जर्मनीको हमवर्गमा स्थापना भएको सो बैंक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने सो दाजुभाइले खोलेका सो बैंकका कारण हमवर्ग सहर आर्थिक गतिविधिमा बढि क्रियाशील बन्यो । हाल १६०० भन्दा बढीलाई यस बैंकले रोजगारी दिइरहेको छ ।

सी होर एण्ड को
सन् १६७२ मा स्थापित यो बैंक लनडनको प्राइभेट बैंक हो । यस बैंकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैंक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैंक सञ्चालन भइरहेको छ । चार सयभन्दा बढीले यस बैंकमा रोजगारी पाइरहेका छन् ।

द बैंक अफ स्कटल्याण्ड
१६९५मा स्थापना भएको कमर्सियल एण्ड क्लियरिङ बैंक हो बैंक अफ स्कटल्याण्ड । यो बैंक त्यहाँको पैसा छाप्ने पहिलो बैंक हो । अहिले हलिफ्याक्स बैंक अफ स्कटल्याण्डको नामबाट परिचित यो बैंक स्कटल्याण्डको एडिनबर्गमा रहेको छ । यस बैंकको स्थापनाले स्कटल्याण्डका विभिन्न व्यवसायहरुलाई सहयोग मिलेको थियो । अहिले पनि २० हजारभन्दा बढीलाई यस बैंकले रोजगारी प्रदान गरिरहेको छ ।

बैंक अफ न्यूयोर्क
१७८४ मा अमेरिकाको न्यूयोर्क सहरमा स्थापित बैंक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैंक हो । अहिले बैंक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैंकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैंक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैंक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो । यो बैंकले ५१ हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]