सफलताको भोक जो कोहीलाई हुन्छ । आफ्नो उद्देश्य अनुसारको उपलब्धिलाई हामी सफलता संग जोडेर हेर्छौ । तर सफलताको जुन स्वाद हुन्छ त्यो धेरै बेर टिक्दैन अर्थात केहि समयमै त्यो आफैलाई सामान्य लाग्न थाल्छ । यो मानिसको स्वाभाबिक गुण पनि हो अन्यथा अहिलेको यो चौतर्फी बिकास सम्भव हुने थिएन । तर भौतिक बिकास ले मात्रै प्राप्त हुने सफलता दीगो हुदैन । सफलता लाई दीगो र निरन्तर बनाईराख्न हामीले प्याकेजमै काम गर्नुपर्ने हुन्छ ।
कार्य बातावरण
सबैभन्दा बढी समय हामी अफिसमै बिताउछौ । अफिसको कार्य वातावरण शान्तिपुर्ण हुनुपर्छ । सहकर्मीहरु संगको सम्बन्धले हाम्रो कार्यगुणस्तर निर्धारण गर्छ । एक अर्काको कामलाई सघाउने, नराम्रो कुराहरु नगर्ने, संचो बिसन्चोमा ख्याल गर्ने । आफुभन्दा जुनियरलाई माया गर्ने काममा ईमान्दार र लगनशील हुन प्रेरित गर्ने । पक्षपात नगर्ने, सबैलाई समान अवसर प्रदान गर्ने र समय समयमा कर्मचारीको क्षमताअनुसार जिम्मेवारी हेरफेर गर्ने । सबैभन्दा महत्वपुर्ण कुरा सकारात्मक उत्प्रेरणा गर्ने । आधुनिक ब्यवस्थापनको सिद्दान्त पनि यही हो । निरंकुश शैलीको नेतृत्वले आजको पुस्ताबाट उत्पादकत्व बढाउन सकिदैन ।
स्वस्थ शरीर
मान्छे एकदिन मर्नु त पर्छ नै तर आफ्नो शरीर स्वस्थ र अस्वस्थ भएर बाँच्नुमा फरक पर्छ । हामीले दैनिक जसो निष्कृय समय बिताईरहेका हुन्छौ र समय निकालेर शाररीक अभ्यास पनि त्यतिकै प्राथमिकतामा राख्नुपर्छ । खानपिन पनि हाम्रो स्वस्थ छैन । हामी उर्जाशील भईरहन जिवित अर्थात नपकाएको खानेकुरामा जोड दिनु पर्छ जसले हाम्रो उर्जा र पाचनशक्ति लाई मजबुत बनाउँछ । सकारात्मक सोच र स्वस्थ शरीरले हामी जस्तोसुकै चुनौतीलाई पनि पार लगाउन सक्छौं ।
पारिवारीक वातावरण
आफ्नो दैनिकी परिवारका सदस्यहरुलाई केही थाहा हुदैन । उनीहरुको आफ्नै प्रकारको दैनिकी हुन्छ । परिवारका सबै सदस्यहरु बसेर केही समय मात्रै भएपनि एक अर्काका कुराहरु सेयर गर्नुपर्छ । आफ्नो समस्या आफुबाहेक कसैले बुझ्दैन तर पनि घरायसी कामहरु प्नि मिलेर गर्दा परिवारका सदस्यहरु पनि खुशी हुन्छन । कहिलेकाही स साना कुराहरुमा पनि मनमुटाव पैदा भईरहेको हुन्छ । ती कुराहरु लाई सानै मानि बिर्सिदिदा पारिवारीक वातावरण रमाईलो हुन्छ । घरका साना ठुला सबैलाई सम्मानजनक जिम्मेवारी प्रदान गर्नुपर्छ र सोही अनुसारको दायित्व पनि बोध गराउनु पर्छ । ठुलाले आफ्नो बिचार नै ठुलो ठान्नु हुदैन र सानाले पनि स्थान पाउनुपर्छ यती गरेपछि पारिवारीक वातावरण सुमधुर बन्छ । समस्यालाई मिलेर समाधान गर्ने संस्कार स्थापित गनुपर्छ ।
सामाजिक सम्बन्ध
मानिस सामाजिक प्राणी हो, भावना, बिचार भएको र भबिष्यकोे सम्म कल्पना गर्न सक्ने एकमात्र जिव मानव हो । बिभिन्न सामाजिक नियमहरुले हामीलाई निर्देशित गरिरहेको हुन्छ । साथी भाई, ईष्ट मित्र, छिमेकी, आफन्त सबैले हाम्रो संलग्नता बिभिन्न अवसरमा खोजिरहेका हुन्छन । बिभिन्न रमाईला पल र दुखद क्षणहरु हाम्रो सम्पर्कमा आई नै रहन्छन् ती सबैको सही ब्यवस्थापन गर्नुको बिकल्प छैन । हाम्रै वरीपरी सयौ प्रकारका समस्या हुन्छन, पृथ्वीमा हाम्रो यो यात्रालाई सार्थक काममा लगाउनुमा जिउनुले पनि सार्थकता पाउँछ ।
मनोरंजन
मनोरंजन बिनाको जीन्दगी नै फिका हुन्छ । हिजोभन्दा आज र आजभन्दा भोली मान्छेले बढी खुशी तथा आनन्दको कल्पना गरेको हुन्छ । मानव सभ्यतादेखि अहिलेसम्मकै सबैभन्दा बढी सुबिधासम्पन्न पुस्ता हामी हौं, हामीसंग सबैथोक छ तर पनि हामी बिभिन्न तरिकाले थाहै नभएको चिजको खोजीमा हुन्छौ । मनोरंजनका बिभिन्न माध्यमबाट आफुलाई सन्तुष्ट बनाउन खोज्छौं तर ती चिजहरु स्थायी हुदैनन । किनकि हामी अर्को ब्यक्तिमा धेरै अपेक्षा गर्छौ र ती अपेक्षा कहिल्यै पुरा हुदैनन । मानव भएर जन्म लिनुमै पनि आनन्दित हुन सकौं त्यसको लागि आफै भित्रका ति तत्वहरुलाई क्रियाशील गरौं, आनन्दित रहौं र सफल बनौं । निडर, सन्तुलित र ईमान्दारीता नै सफलताको अर्को नाम हो ।
रोकाया कुमारी बैंकमा कार्यरत छन् ।