July 1st, 2016

साताभर नेप्सेमा ८ अर्बको कारोबार, एभरेष्ट बैंकको कारोबार सबैभन्दा धेरै

economicयस साता नेपाल स्टक एक्सचेन्जमा ८ अर्बभन्दा बढीको शेयर कारोबार भयो । साताभरमा १ सय ५० वटा कम्पनिको २ करोड २८ लाख ३६ हजार २ कित्ता शेयर ३२ हजार ८ सय ३९ पटक खरिदविक्रि हुँदा कुल ८ अर्ब ३८ करोड ९ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । कारोबार रकम गत साताको तुलनामा ७ दशमलव ३२ प्रतिशतले बढी हो । गत साता १ सय ४७ वटा कम्पनीको १ करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता शेयर ३२ हजार १८ पटक खरिदविक्रि हुँदा ७ अर्ब ८२ करोड २९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो । 

यस साता नेप्से परिसुचक पहिलो दिनको तुलनामा ३८ दशमलव ०६ अंकले बढेर अन्तिम दिन १ हजार ७ सय २३ दशमलव २३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पहिलो दिनको तुलनामा ८ दशमलव २७ अंकले बढेर ३ सय ७२ दशमलव २६ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको एभरेष्ट बैंकको ३७ करोड ४३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सको ३२ करोड १८ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २८ करोड ६६ लाख ६० हजार रुपैयाँ, नेपाल एसबिआई बैकको २८ करोड २ लाख ४० हजार रुपैयाँ र एनएमबि बैंकको २५ करोड ९६ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा एनआइबिएल समृद्धि फण्ड १ अग्रस्थानमा रहेको छ जसको ४८ लाख ८६ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । कारोबार संख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ जसको शेयर १ हजार २ सय १५ पटक कारोबार भएको छ ।  

यस साता जलविद्युत लगानी तथा विकास कम्पनीको साधारण १० करोड कित्ता शेयर र मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाको २० लाख कित्तासाधारण शेयर नेप्सेमा सुचीकृत भए ।