बैंकिङ खबर । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले ३५ जना फिल्ड कर्मचारीलाई २ दिने फिल्ड व्यवस्थापन तालिम शुक्रवार इटहरीमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल, कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय इटहरीका प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा–छट्टै विषयमा प्रशिक्षण दिनु भएको थियो । नेरुडेले २०७६ माघ ६ र ७ गते पहिलो चरणमा ३५ जना फिल्ड कर्मचारीलाई सोही बिषयमा प्रशिक्षण दिई सकेको छ ।
उक्त अवसरमा संस्थाका प्रबन्ध सञ्चालक सुधीर कुमार श्रेष्ठले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको अस्वस्थ प्रतिस्पर्धा तथा बहुबैकिङ्गको समस्या बढ्दै गईरहेकोले अनिवार्य रुपमा कर्जा सुचना लिएर बिश्लेषण गरी मात्र कर्जा लगानी गर्न सहभागीलाई आग्रह गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७६ पौष मसान्त सम्म ३१ वटा जिल्लामा ८७ वटा शाखा उपशाखा मार्फत १ लाख ३८ हजार ५ सय पच्पन्न जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।