July 1st, 2016

यी हुन्, साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस सातादेखि यहि असार महिनाभित्रै नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिको चर्चा सुरु भएको छ । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

कस्तो बनाउने मौद्रिक नीति
यहि असार महिनाभित्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको छ । यस सातादेखि कस्तो मौद्रिक नीतिले बजेटको लक्ष्य पूरा गर्न सक्छ भन्ने कुरामा विभिन्न विज्ञ तथा सरोकारवालाहरुको टिप्पणी तथा सुझावलाई नै सञ्चार माध्यमहरुले महत्व दिएका छन् । विस्तारवादी बजेटका हिसाबले निकै चुनौतीपूर्ण मानिएको यस मौद्रिक नीति तर्जुमाका लागि सुझाव संकलन गर्न राष्ट्र बैंकले नै विहिबार एक कार्यक्रमको आयोजना गर्यो । जहाँ सरोकारवालाहरुले लगानीको दायरा बढाइदिने लगायतका माग अघि सारे । 

शाखा, सेवा तथा प्रविधि विस्तार
हिमालयन बैंक लिमिटेडले काठमाडौँ उपमहानगरपालिका–१५, स्वयम्भू भगवान पाउमा आफ्नो ८३ औँ एटीएम स्थापना गर्यो ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सर्टिफाइङ्ग कम्पनि (एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टि्फिकेट(डिएससी) प्रदान गर्ने विषयमा सम्झौता भयो । प्रभु टेक्नोलोजी प्रालि र हुवावे टेक्नोलजिज् नेपाल प्रालिले भूक्तानी सम्बन्धी वित्तीय सेवा एमरुपैयाँ सञ्चालनमा ल्याए । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहक सेवामा थप विस्तार गर्दै धनकुटाको भेडेटार–४ मा शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।  

शेयर निष्काशन तथा वितरण
सुप्रिम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको खुद मुनाफाबाट कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सार्यो । अल्पाइन डेभलपमेण्ट बैंकको सञ्चालक समितिको ११२ औं बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशतका दरले बोनश शेयर दिने प्रस्ताव गर्यो । एनआइएसी एशिया बैंकले निष्काशन गरेको पच्चिस प्रतिशत हकप्रद शेयरका लागि आवेदन दिने मिति बुधबार सकियो भने विहिबारदेखि दिव्यश्वरी हाइड्रा्पावरको साधारण शेयरका लागि आवेदन दिने मिती सकियो । साताको सोमबारदेखि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भयो । नेपाल इन्भेष्टमेण्ट बैंकले गत फागुनमा निष्काशन गरेको ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ पनि सोमबारदेखि नै नेप्सेमा सूचीकृत भयो । युनाइटेड फाइनान्स लिमिटेडले साढे ११ लाख कित्ताभन्दा बढी मात्रामा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्यो । 

मर्जर तथा एकीकृत कारोबार
सेन्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर(किन्ने) सम्बन्धमा यसै साताको आइतबार दुई बैंकबिच सम्झौता भयो । 

अनुदान तथा सहयोग
भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रोमा ५० हजार गरी २ किस्तामा अनुदान दिने विषयमा सबै राजनीतिक दलहरु सहमत भए ।

नेपाल राष्ट्र बैंकका गतिविधि
बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्यो । कर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारीहरु फेरि आन्दोलित भए । उनीहरुले गभर्नर कार्यकक्ष नै घेराउ गरे ।

बीमा क्षेत्रमा केके भए ?
समग्र बजार नै प्रभावि हुने गरी एफपीओको आफूदुसी मूल्य तोकी सार्वजनिक गरेको भन्दै रोक्का गराइएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको शेयर कारोबार विहिबारदेखि खुल्यो । खुलेकै दिन कम्पनिका लगानीकर्ताको राम्रो आकर्षण देखियो । 
 
अन्तर्राष्ट्रिय
भारतीय सरकारले रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) को आगामी गभर्नरका लागि चार जनाको नाम सर्टलिष्ट गर्यो । बेलायतले युरोपियन युनियन छोड्ने निर्णय गरेपछि विश्व शेयर बजारमा हलचल मच्चियो । पाउन्ड स्टर्लिङको भाउ ३ दशक यताकै कममा झर्यो । एसियाली शेयर बजारमा पनि यसले प्रभाव पारेको थियो । यद्यपि पछिल्लो दिनमा बजार सुधारिएको छ । 

अन्य
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन सम्बन्धमा बिहिबार समझदारी भयो । साताको आइतबारदेखि सरकार र निजीक्षेत्रको संयुक्त प्रयासमा करदाता सचेतना अभियान आइतबारदेखि सुरु भयो । लक्ष्मी बैंक लिमिटेडले राजधानीको न्यूरोडमा ३२९.८९ वर्ग मिटरको जग्गा ४४ करोड ५० लाख रुपैयाँमा खरीद गर्यो ।