बुधबार नेपाल स्टक एक्सचेन्जमा डेढ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३७ वटा कम्पनिको ४६ लाख ८१ हजार ७ सय ६६ कित्ता शेयर ६ हजार ४ सय १५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५८ करोड १६ लाख ७ हजार ८ सय २४ रुपैयाँको पुँजी परिचालन भएको हो । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार १ अर्ब ८४ करोडको शेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको नेको इन्स्योरेन्सको पौने ६ करोडको कारोबार भएको छ भने एभरेष्ट बैंकको साढे ५ करोड र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स र एनबी बैंकको ४ करोड ९० लाखमाथिको कारोबार हुँदा नेपाल बैंकको ४ करोड ८५ लाख र सगरमाथा इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको साढे ४ करोडको कारोबार भएको छ । एसबीआई बैंक र एनएमबी बैंकको पनि ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
एनआईडीसी क्यापिटल मार्केट्स र राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर शेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा ग्रामीण विकास बैंक, प्रोफेसनल दियालो विकास बैंक र युनियन फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.७६ र ९.३२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । रुरल माइक्रोफाइनान्स, साना किसान विकास बैंक, तिनउ डेभलपमेन्ट बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स, पूर्णिमा विकास बैंक, राप्तीभेरी विकास बैंक लगायत छन् ।
सामान्य भएपनि बजार उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ०.४० अंकले बढेर १७२४.५९ अंकमा कायम भएको छ । वाणिज्य बैंकबाहेक सबै समूहहरु बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ६२.६५ अंकले बढेको छ भने होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २९.१६, १६.०१, १५.११, ४.७३, ४.४४ र २.३५ अंकले बढेका छन् । वाणिज्य बैंक भने ८.५६ अंकले घटेको छ ।