
बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. क्षेत्रीय कार्यालय नेपालगंजको आयोजनामा संस्थामा आवद्ध ग्राहक सदस्यहरूका लागि तरकारी खेती तथा पशुपालन सम्बन्धी निःशुल्क तालिम सम्पन्न भएको छ ।
उक्त तालिम कार्यक्रमको उद्घाटन संस्थाका क्षेत्रीय प्रवन्धक खगेन्द्र प्रसाद अर्यालले गर्नुभएको हो । अर्यालले यस संस्थाले विगत लामो समयदेखि विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खासगरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार पुर्याउन विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको बताउनु हुँदै कुल लगानीको करिव ४७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेकोले ग्राहक किसान सदस्यहरूको व्यवसायीक दक्षता बृद्धि गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, कृषि अनुसन्धान परिषद् खजुरा बाँकेको प्राविधिक सहयोगमा हालै सञ्चालन भएको तरकारी खेतीे सम्बन्धी तालिममा बाँके जिल्ला स्थित रांझा, बेतहनी, बाबुगाँउ, खजुरा शाखा कार्यालयबाट ३५ जना ग्राहक कृषकहरूको सहभागिता रहेको थियो भने पशुपालन सम्बन्धी तालिममा शाखा कार्यालय बेतहनी, रांझा, खजुरा र इलाका कार्यालय नेपालगंजका २१ जना कृषकहरूको सहभागिता रहेको थियो ।
तरकारी खेती सम्बन्धी तालिममा प्याज खेती, उन्नत आलुखेती, टमाटर खेती, बिउ उत्पादन गर्ने प्रविधी, आपको कलमी गर्ने प्रविधी आदि विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान, फिल्ड अवलोकनका साथै तरकारी खेतीको रोग व्यवस्थापनका विषयमा सम्बन्धित् बिषयका प्राविधिक अधिकृतहरूद्धारा उक्त तालिम प्रदान गरिएको थियो ।
यसैगरी पशुपालन सम्बन्धी तालिममा विभिन्न पशुहरूमा लाग्ने रोगहरू चरचरे, खोरेत, भ्यागुते,गंगोटी, पटके र गर्भ नरहने, बा“झोपन, थुनेलो आदि रोगको उपचार तथा रोगथामका उपायहरू, घाँस उत्पादन गर्ने प्रविधी, गाई भैंसीको गोठ निर्माण र आहारा व्यवस्थापन आदि विषयमा सम्बन्धित् विषयका विज्ञ तथा प्राविधिक अधिकृतहरूद्धारा तालिम प्रदान गर्दै कृषकहरूले तालिम पश्चात सिकेका कुराहरू व्यवहारमा उतार्नु पर्ने आवश्यकतामा जोड दिएका थिए ।
तालिम कार्यक्रममा सहभागी संस्थाका ग्राहक कृषकहरूले तालिमको माध्यमबाट परम्परागत जीविकोपार्जन सीपलाई आधुनिक कृषि प्रणाली अपनाई व्यवसायीक कृषि तर्फ डोर्याउन थप मद्धत पुग्नुका साथै तालिममा सिकेको नयां ज्ञान, सीप र प्रविधिको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासले उत्पादनमा बृद्धि गर्न सघाउ पुग्ने बिचार व्यक्त गरेका थिए ।