देशको आर्थिक एवम् वित्तीय अवस्था : राष्ट्र बैंकको चौमासिक समीक्षा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक एवम् वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ । आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति रु.११०३ अर्ब १२ करोड कायम भएको छ । उक्त सञ्चिति ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु. २१९ अर्ब १७ करोड र राजस्व परिचालन रु.२७५ अर्ब २ करोड छ ।

त्यस्तै, विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.४ प्रतिशत र कर्जाको वृद्धिदर १५.६ प्रतिशत छ । हेरौँ राष्ट्र बैंकको चौमासित समीक्षा जस्ताको तस्तैः

मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७६ कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ ।
२. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ ।
३. समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
४. समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति
५. २०७६ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
६. वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.१९ प्रतिशतले घटेको छ ।

तलव तथा ज्यालादर सूचकाङ्क
७. २०७६ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.४५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.९० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६१ प्रतिशतले बढेको छ ।

बाह्य क्षेत्र
वैदेशिक व्यापार
८. आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
९. आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर रु.४५० अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
१०. भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
११. आर्थिक वर्ष २०७६।७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई रु.४१४ अर्ब २ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
१२. २०७६ कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४.६ प्रतिशतले घटेको छ । २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत आधारमा ४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ कात्तिक महिनामा ५.९ प्रतिशतले बढेको छ ।

सेवा
१३. समीक्षा अवधिमा खुद सेवा आय रु.२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको थियो ।
१४. सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ११.३ प्रतिशतले वृद्धि भई रु.२७ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२५ अर्ब ६ करोड रहेको थियो ।
१५. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६.१ प्रतिशतले कमी आई रु.२५ अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.१२ अर्ब १७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.३४ अर्ब ९१ करोड र सोमध्ये शिक्षातर्फको खर्च रु.१९ अर्ब ३१ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह
१६. समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी रु.३०४ अर्ब ९७ करोड कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।
१७. अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।
१८. समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले कमी आई रु.३४४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
१९. समीक्षा अवधिमा चालु खाता घाटा रु.३७ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.८८ अर्ब ४३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ ।
२०. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ५७ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब २४ करोड रहेको थियो ।
२१. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२२. २०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई २०७६ कात्तिक मसान्तमा रु.११०३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ ।
२३. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु.९५८ अर्ब १७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु.१४४ अर्ब ९५ करोड पुगेको छ । २०७६ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू
२४. आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१.८ प्रतिशत, ७२.५ प्रतिशत र २९.९ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६५.२९ रहेकोमा २०७६ कात्तिक मसान्तमा ३.० प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ६३.३२ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२२२.४० रहेकोमा २०७६ कात्तिक मसान्तमा २०.० प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १४६६.९० पुगेको छ ।

विनिमय दर
२६. २०७६ असार मसान्तको तुलनामा २०७६ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.५६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३६ रहेको थियो ।

सरकारी वित्त स्थिति
वित्त घाटा/बचत
२७. आर्थिक वर्ष २०७६।७७ को चार महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.६५ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको थियो ।

खर्च तथा राजस्व
२८. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रु.२१९ अर्ब १७ करोड रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२०७ अर्ब ६८ करोड रहेको थियो ।
२९. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.२७५ अर्ब २ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.२५५ अर्ब २ करोड रहेको थियो ।

नगद मौज्दात
३०. २०७६ कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५० अर्ब ३० करोड (स्थानीय तहको खातामा रहेको रु.४१ अर्ब ८९ करोडसमेत) नगद मौज्दात रहेको छ ।

मौद्रिक स्थिति
मुद्राप्रदाय
३१. आर्थिक वर्ष २०७६/७७ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ ।
३२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.२७ अर्ब २९ करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.५७ अर्ब ४८ करोड (५.५ प्रतिशत) ले घटेको थियो ।
३३. समीक्षा अवधिमा सञ्चित मुद्रा १.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १५ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा सञ्चित मुद्रा १४.५ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा
३४. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा यस्तो कर्जा १८.१ प्रतिशतले बढेको छ ।
३५. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५.३ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन
३६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.४ प्रतिशतले बढेको छ ।
३७. २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको थियो ।
३८. २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत रहेको छ । २०७५ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५.६ प्रतिशतले बढेको छ ।
४०. २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.२ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो ।
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.१ प्रतिशतले बढेको छ ।
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ६.८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र ओभरड्राफ्ट कर्जा ०.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले घटेकोछ ।

तरलता व्यवस्थापन
४३. आर्थिक वर्ष २०७६।७७ को चार महिनामा खुला बजार कारोबारमार्फत्कुल रु.३० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
४४. समीक्षा अवधिमा रिपोमार्फत रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.५० अर्ब ५५ करोड गरी कुल रु. ९० अर्ब ७ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत रु.५ अर्ब ४२ करोड तरलता प्रवाह भएको थियो ।
४५. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर १ अर्ब २० करोड खुद खरिद गरी रु.१३६ अर्ब ५६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८७ करोड ९५ लाख खुद खरिद गरी रु.१०१ अर्ब ८६ करोड तरलता प्रवाह गरिएको थियो ।
४६. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ४२ करोड बिक्री गरी रु.१६० अर्ब ९६ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.१८१ अर्ब ५२ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो ।

पुनरकर्जा
४७. उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले यस बैंकबाट सहुलियतदरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ कात्तिक मसान्तमा रु.१३ अर्ब ९० करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. ११ अर्ब ३५ करोड र निर्यात पुनरकर्जा रु.६८ करोड २५ लाख उपयोग भएको छ ।
४८. भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ कात्तिक मसान्तमा रु.१ अर्ब ९१ करोड रहेको छ । यस्तो कर्जा १५७८ जना ऋणीले उपयोग गरेका छन् ।

सहुलियतपूर्ण कर्जा
४९. २०७६ कात्तिक मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८,७४३ जना ऋणीको रु.३९ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २,१२६ जना ऋणीको रु.१ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ ।

अन्तर–बैंक कारोबार
५०. आर्थिक वर्ष २०७६।७७ को चार महिनामा वाणिज्य बैंकहरुबीच रु.६९७ अर्ब २ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच रु.५८ अर्ब २३ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः रु.४२१ अर्ब ९१ करोड र रु.४८ अर्ब ६९ करोडको यस्तो कारोबार गरेका थिए ।

ब्याजदर
५१. २०७५ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.२० प्रतिशत रहेकोमा २०७६ कात्तिकमा ३.८३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ को १.६८ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।
५२. वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ कात्तिकको १०.२१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा ९.५० प्रतिशत कायम भएको छ । २०७६ कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।

मर्जर तथा प्राप्ति
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ कात्तिक मसान्तसम्म कुल १७८ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १३५ संस्थाको इजाजत खारेज भई कुल ४३ संस्था मात्र कायम रहेका छन् ।

वित्तीय पहुँच
५४. २०७६ कात्तिकसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।
५५. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ कात्तिक मसान्तमा १६७ रहेको छ । यस मध्ये २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ कात्तिक मसान्तमा ९२२३ पुगेको छ ।

पुँजी बजार
५६. २०७५ कात्तिक मसान्तमा १२०५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ कात्तिक मसान्तमा ११३६ विन्दु कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९ रहेको थियो ।
५७. धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १.३ प्रतिशतले घटी २०७६ कात्तिक मसान्तमा रु. १४४१ अर्ब ३१ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो ।
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ कात्तिक मसान्तमा २१५ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४।४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।
५९. सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.५ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
६०. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ कात्तिक मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४३ करोड शेयर संख्याको चुक्ता मूल्य रु.४३४ अर्ब ९२ करोड रहेको छ ।
६१. आर्थिक वर्ष २०७६/७७ को चार महिनामा रु.१० अर्ब ५२ करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु.१ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, रु.६ अर्ब बराबरको डिबेन्चर, रु.३ अर्ब ६४ करोड बराबरको म्युचल फण्ड र रु.३ अर्ब ४२ करोड बराबरको अन्य गरी कुल रु.३३ अर्ब ११ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्व ४० करोड बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको छ ।


सोसिअल मेडिया