मंगलबार शेयर बजारले पुनः नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ११.३५ अंकले बढेर आजसम्मकै उच्च विन्दु (१७२४.१९ अंक)मा पुगेको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । दिनभरिमा १ सय ३६ वटा कम्पनिको ४९ लाख ४१ हजार ८ सय ३० कित्ता शेयर ७ हजार ५ सय ६० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ८४ करोड १७ लाख १० हजार १ सय ६६ रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबार १ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
एनएमबी बैंकको सबैभन्दा धेरै ८ करोड ९२ लाख ७५ हजार १ सय ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स र एनबी बैंकको पनि ८ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंक र एसबीआई बैंकको ७ करोड ६० लाखभन्दा बढीको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको ६ करोड ३० लाखभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्चुरी कमर्सियल बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स, नविल बैंक लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
एभरेष्ट बैंक (सीपी) र राष्ट्रिय बीमा कम्पनिका प्रोमोटर शेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रोफेसनल दियालो विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले क्रमशः ९.७० र ९.२७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ग्रामीण विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, काबेली विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । युनियन फाइनान्सका लगानीकर्ताले साढे ९ प्रतिशतका दरले गुमाएका छन् । कालिका माइक्रोक्रेडिट, कसमस डेभलपमेन्ट बैंक, युनिक फाइनान्स, हामा मर्चेन्ट लगायतले पनि गुमाएका छन् ।
मंगलबार सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा ३७.७५ अंकले बढेको छ भने जलविद्युत् ३२.९९ अंकले बढेको छ । त्यस्तै, होटल १७.२२, उत्पादनमूलक १४.३९, वाणिज्य बैंक १२.७८, विकास बैंक ५.६९, अन्य ४.७, व्यापार १.४१ र फाइनान्स ०.४ अंकले बढेका छन् ।
