June 27th, 2016

नेप्सेले नाघ्यो १७ सयको विन्दु, बैंकहरुमै लगानीकर्ताको धेरै आकर्षण

stock-bull-1साताको सोमबार नेप्सेले १७ सयको विन्दु पार गरेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्से परिसूचकले सोमबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । सोमबार एकैदिन नेप्से ३६.६० अंकले बढेर १७२१.७७ अंकमा पुगेको छ । बेलायत युएईबाट बाहिरिएपछि विश्व शेयर बजारमा नै हलचल मच्चिए पनि नेपालको शेयर बजार भने आफ्नै गतिमा बढिरहेको छ । 

बीमा र होटल समूह घटेपनि सोमबार कारोबार भएका अन्य सबै समूह उकालो लागेपछि समग्र बजार नै प्रभावित बनेको छ । आइतबारझैँ सोमबार पनि बैंकिङ समूहमा नै लगानीकर्ताको धेरै आकर्षण रह्यो । बैंकिङ समूह सोमबार ६१.०७ अंकले बढ्दा विकास बैंक २१.२७, जलविद्युत् १५.८, फाइनान्स १२.६७, उत्पादनमूलक ४.३७ र अन्य समूह १.१७ अंकले बढेका छन् । बीमा र होटल भने क्रमशः ९५.५७ र २६.१९ अंकले घटेका छन् । 

परिसूचकले नयाँ रेकर्ड बनाएपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । दिनभरिमा १ सय ३२ वटा कम्पनिको ४९ करोड २५ लाख २ सय ७६ कित्ता शेयर ६ हजार १ सय ६७ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ६३ करोड ९० लाख ८९ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा थोरै बढीहो । आइतबार १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

सोमबार धेरै कारोबार हुने कम्पनिको अग्र नौ स्थान वाणिज्य बैंकहरुले ओगटेका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको ९ करोड ९५ लाख ४१ हजार ६० रुपैयाँको कारोबार भएको छ भने एसबीआई बैंकको ८ लाख ६४ हजार, एनबी बैंकको ७ करोड, नविल बैंकको ६ करोड ४२ लाख र एनएमबी बैंकको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सनराइज बैंक नेपाल बैंक, प्राइम कमर्सियल बैंक, एन्भेष्टमेन्ट बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनि, सेन्चुरी कमर्सियल बैंक र जेविल्स फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९९, ९.९८ र ९.८४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, लुम्बिनी फाइनान्स, युनाइटेड फाइनान्स, सनराइज बैंक, गण्डकी विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा मनास्लु विकास बैंक, नेपाल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स लगायत छन् ।