२०७३ असार १३ गते

विश्वभरिका धनाढ्यहरुको सम्पत्ति ६ सय खर्ब डलर, सबैभन्दा धेरै एसियालीसँग

dollorविश्वभरिका धनाढ्यहरु (मिलिनियर)को सम्पत्ति ६ सय खर्ब डलर पुगेको एक रिपोर्टले देखाएको छ । वित्तीय फर्म कापगेमिनीको वर्ल्ड वेल्थ रिपोर्टले यस्तो देखाएको हो । यो ३० वर्ष अगाडिको दाँजोमा ४ गुणा बढी हो । यो सम्पत्ति आगामी सन् २०२५ सम्म १ हजार खर्ब डलर पुग्न सक्ने कापगेमिनीले जनाएको छ । 

एसियाली धनाढ्यहरुको सम्पत्ति सबैभन्दा धेरै
रिपोर्टका अनुसार उत्तर अमेरिका, युरोप र अन्य क्षेत्रको तुलनामा एसियाली धनाढ्य (मिलिनियर) को सम्पत्ति बढी भएको पाइएको छ । एसिया क्षेत्रका मिलिनियरले १ सय ७४ खर्ब डलरको सम्पत्ति ओगटेर बसेका छन् । यो उत्तर अमेरिकाको १ सय ६६ खर्ब डलरको दाँजोमा बढी हो । “यदि यो वृद्धिदर कायमै रह्यो भने एसिया–प्रशान्त क्षेत्रले आगामी दशकसम्म पनि लगातार नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । क्षेत्रले विश्वको उच्च सम्पत्ति भएका मानिस (एचएनडब्लूआई) को संख्याको पाँच भागको दुई भागको प्रतिनिधित्व गर्नेछ । यो युरोप, ल्याटिन अमेरिका, र मध्यपूर्व र अफ्रिकाको संयुक्तभन्दा बढी हो,” प्रतिवेदनमा भनिएको छ । 

चिन र जापानको नेतृत्व
एसियामा पनि चीन र जापानका धनाढ्यहरुको सम्पत्ति सबैभन्दा बढी पाइएको छ । गत वर्ष चीन र जापानको नेतृत्वमा एसियाली मिलिनियरको सम्पत्तिमा १० प्रतिशत वृद्धि भएको रिपोर्टले देखाएको छ । चीनको मन्द आर्थिक वृद्धि र कमजोर जापानी अर्थतन्त्रका बाबजुद १० लाखसम्मको सम्पत्ति भएका व्यक्तिको संख्या एसियामा वृद्धि भएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार, एसियामा भएको वृद्धिका पछाडि वित्तीय सेवा, प्रविधि र स्वास्थ्य हेरचाह उद्योगको मूख्य योगदान रहेको छ । 

अमेरिका र युरोपको कसको नेतृत्व ?
अमेरिकी सम्पत्ति बजारको मन्द वृद्धिले गत वर्ष उत्तर अमेरिकाको भूमिका निराशाजनक रह्यो । यद्यपि अमेरिकामा अझै ४४ लाख ५० हजारको उच्च संख्यामा मिलिनियर छन् । युरोपका मिलिनियरले आफ्नो सम्पत्तिमा ४.८ प्रतिशत वृद्धि भएको पाएका छन् । देशको कीर्तिमानी बेरोजगारीका बाबजुद यसको नेतृत्व स्पेनले गरेको छ । उच्च सम्पत्ति भएकाहरूको संख्याका आधारमा बेलायत पाँचौं स्थानमा परेको छ । यद्यपि यो संख्या १ प्रतिशतले मात्रै वृद्धि भई ५ लाख ५३ हजार कायम भएको छ । ल्याटिन अमेरिकाका मिलिनियरको सम्पत्तिमा भने ३.७ प्रतिशतले कमी आएको छ । अस्थिर राजनीतिक अवस्था र ब्राजिलको धितोपत्र बजारमा आएको गिरावटका कारण यो क्षेत्रका मिलिनियरको सम्पत्ति ओरालो लागेको हो । यद्यपि गत वर्ष विश्वव्यापी रूपमा मिलिनियरहरूले ओगटेको सम्पत्तिमा भने ४ प्रतिशतको वृद्धि भई ५ सय ८७ खर्ब डलर पुगेको छ । यो वर्षको सुरुमा अक्सफामले विश्वका शीर्ष धनी १ प्रतिशतको सम्पत्ति विश्वका बाँकी मानिसको सम्पत्ति बराबर भएको जनाएको थियो ।