बैंकिङ खबर । बैंकमा गएर प्रक्रिया पूरा गर्नुभन्दा मानिसहरु साहुमहाजनबाटै ऋण लिन सहज ठान्दछन् । उनीहरुलाई बैंकको प्रक्रिया झन्झटपूर्ण लाग्छ । तर थोरै सहजताको लागि जोखिम मलेको तर्फ उनीहरुको ध्यान हुँदैन । जब साहुले चर्को व्याजले पैसा नै तिर्न नसक्ने अवस्थामा पुग्छ अनि पछुतो हुन थाल्छ । त्यसैले, कर्जा लिनको लागि बैंक तथा वित्तीय संस्था नै रोज्नु उपयुक्त हुन्छ ।
१) बैंक आधिकारिक एवं बैधानिक निकाय
बैंक तथा वित्तीय संस्था भनेको कर्जा दिने आधिकारिक निकाय हुन् । बैंक तथा वित्तीय संस्थाहरुको काम नै निक्षेप स्वीकार गर्ने र सोको निश्चित व्याज दिने, निश्चित व्याज लिएर कर्जा उपलब्ध गराउने हो । यसै कामका लागि नेपालमा २८ वटा वाणिज्य बैंक, २८ वटा विकास बैंक, २२ वटा वित्त कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्था संचालनमा छन् । यी संस्थाहरुले गाउँगाउँमा शाखा खोलेर सेवा लिन सहज बनाइरहेका छन् । यीमध्ये कुनै पनि बैंकको शाखाबाट आधिकारिक रुपमा निश्चित व्याजदरमा कर्जा प्राप्त गर्न सकिन्छ ।
२) प्रभावकारी नियमनकारी निकाय
बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गर्दछ । बैंकिङ क्षेत्रका हरेक क्रियाकलापमा नियामकको निगरानी रहन्छ । निश्चित नियममा चल्ने भएकाले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनु राम्रो हुन्छ । राम्रो नियमन भएका संस्थाबाट कर्जा लिनु सुरक्षित पनि हुन्छ । बैंकको नियमअनुसार, विस्तारै किस्ता तिर्दै गर्न सकिन्छ ।
३) राष्ट्रिय अर्थतन्त्रमा समाहित
तपाईँले बैंकबाट कर्जा लिँदा वा अन्य कारोबार गर्दा अप्रत्यक्ष रुपमा राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुगिरहेको हुन्छ । अनौपचारिक अर्थतन्त्र कम हुँदै जान्छ र सबै कारोबार क्रमशः औपचारिक अर्थतन्त्रमा समाहित हुँदै जान्छ । अरु कसैले बैंकमा राखेको निक्षेपबाट बैंकले तपाईँलाई कर्जा दिन्छ, तपाईँले बुझाउनुभएको व्याजबाट निक्षेप राख्नेले पनि निश्चित व्याज पाइरहेको हुन्छ । एउटाको बचत अर्कोको लगानीका लागि काम लागिरहेको हुन्छ । एउटाले फजुल खर्च गर्ने रकमले अर्कोले कुनै उत्पादनमूलक कार्य गरिरहेको हुन्छ ।
४) प्रचलित व्याजदरमा आधारित
साहुमहाजनबाट कर्जा लिँदा कसले कति व्याज लिन्छ भन्ने हुन्छ । तर, बैंकबाट कर्जा लिँदा त्यस्तो हुँदैन । समग्र बैंकिङ क्षेत्रमा नै प्रचलित व्याजदरअनुसार तपाईँले कर्जा पाउनुहुन्छ । व्याजदरमा अनियमितता हुने वा पहिले एउटा व्याजदर भनेर बीचमा बढाउने जस्ता समस्या हुँदैन । यदि यस्तो भएमा खबरदारी गर्न पाइन्छ । व्याजदर चुक्ता गर्न पनि निश्चित समय दिइएको हुन्छ । कर्जा लिएर आफूले लगानी गरेको व्यवसायबाट आम्दानी गरि विस्तौ किस्ता तिर्दै गर्न सकिन्छ । व्याजदरहरुका बारेमा बैंकको वेभसाइटमा पनि स्पष्ट पारिएको हुन्छ, यसले गर्दा ढुक्क हुन पाइन्छ ।
५) ठग्ने व्यक्ति तथा संस्थाहरुबाट मुक्त
कसैको आवश्यकताको फाइदा उठाएर ठग्ने वा लुट्ने समूहहरुको कमी छैन । सुरुमा कर्जा दिलाइदिन्छु भनेर पछि चर्को व्याज लगाउने, कर्जा तिर्न धेरै समय नदिने, कर्जा तिर्न सकेन भन्दै दुव्र्यवहार गर्ने, घरबार खोस्ने लगायतका क्रियाकलाप समेत हुने गरेको पाइन्छ । यस्तो व्यक्ति तथा संस्थाहरुबाट मुक्ति पाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट मात्रै कर्जा लिने बानी बसाल्नुपर्छ । प्रभावकारी नियमनको अधीनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले ठग्ने, अव्यवहारिक व्याजदर लगाउने गर्न पाउँदैनन् । उनीहरु निश्चित प्रक्रियमा चल्छन् ।




