विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्ने
admin २०८३ बैशाख २१ गते
सेयर:
बैंकिङ खबर / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने बजेटको तयारी भइरहेको बताएका छन् । उनले आर्थिक वृद्धि तथा रोजगारी सिर्जना र लगानी विस्तारमा सरकार अग्रसर भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई सक्रिय बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । आगामी बजेटले अर्थतन्त्रमा आशा जगउने बताउँदै उनले १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उल्लेख गरे । अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै अघि बढ्ने बताए । अर्थमन्त्री डा. वाग्लेले राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको उल्लेख गरे । नेपाली राजनीतिमा नयाँ युगको सुरुवात भएको उनको भनाइ थियो । नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा जकडिएको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि सरकार निर्मम भएरै लाग्ने बताउँदै उनले पहुँच र भनसुनका आधारमा काम हुने संस्कृतिको अब अन्त्य भएको बताए ।