साताको अन्तिम दिने नेपाल स्टक एक्सचेन्जमा झन्डै २ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनीको ३२ लाख २१ हजार २६ कित्ता शेयर ७ हजार ८ सय १० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९८ करोड ९९ लाख २४ हजार ९ सय २१ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा बढेको छ । बुधबार पौने २ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्स र सानिमा माइ हाइड्रोपावरमा लगानीकर्ताको धेरै आकर्षण रहेको छ । यी दुई कम्पनिको क्रमशः १४ करोड र ११ करोडमाथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको सवा ९ करोडको कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्सको साढे ८ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकको साढे ७ करोड र एभरेष्ट बैंककाृ पौने ७ करोडको कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको साढे ६ करोडभन्दा माथिको र एसियन लाइफ इन्स्योरेन्सको ६ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कम्पनिको झन्डै ६ करोडको कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्सको सवा ५ करोडभन्दा माथिको शेयर कारोबार भएको छ ।
राष्ट्रिय बिमा कम्पनि र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने अरुण भ्याली हाइड्रोपावर र स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले क्रमशः ९.८५ र ९.३८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एभरेष्ट बैंक (सीपी), रिडी हाइड्रोपावर, रिलायन्स लोटर फाइनान्स, स्वरोजगार लघुवित्त लगायतले पनि कमाएका छन् । गुमाउनेमा राप्तीभेरी विकास बैंक, सिनर्जी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक लगायत छन् ।
विहिबार नेप्से परिसूचक पनि १८.७८ अंकले बढेर १६६६.२९ अंकमा पुगेको छ । फाइनान्सबाहेक विहिबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बिमा समूह ६९.६९ अंकले बढ्दा जलविद्युत् ४०.८३, उत्पादनमूलक ३४.८६, वाणिज्य बैंक २३.१७, विकास बैंक १२.९७, होटल ११.२३ र अन्य १.१८ अंकले बढेका छन् । फाइनान्स भने ६.९४ अंकले घटेको छ ।


