June 22nd, 2016

बुधबारको नेप्से : पौने २ अर्बको कारोबार, १६४७.५१ अंकमा परिसूचक

economicबुधबार नेपाल स्टक एक्सचेन्समा पौने २ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३६ वटा कम्पनिको २२ लाख ९४ हजार ७६ कित्ता शेयर ६ हजार ६ सय ५५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ७८ करोड ९ लाख २ हजार ९ सय ३९ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम मंगलबारको तुलनामा बढेको हो । मंगलबार १ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

कुल कारोबार रकममध्ये लुम्बिनी जेनेरल इन्स्योरेन्सको मात्रै १९ करोड ७५ लाख ६३ हजार ८ सय ९३ रुपैयाँको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख, नेको इन्स्योरेन्सको ९ करोड ५ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ६७ लाख, एभरेष्ट बैंकको ८ करोड १६ लाख र शिखर इन्स्योरेन्सको ६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनएमबी बैंक, एनबी बैंक र एसियन लाएफ इन्स्योरेन्सको ५ करोडमाथिको कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

सानिमा माई हाइड्रो, लुम्बिनी जेनेरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनि प्रोमोटर शेयर र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने युनियन फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नेको इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, पोखरा फाइनान्स, लुम्बिनी फाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा अरनिको डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी लगायत छन् । 

बुधबार नेप्से परिसूचक १८.७० अंकको वृद्धिसँगै १६४७.५१ अंकमा पुगेको छ । अन्य बाहेक कारोबार भएका सबै समूह बढेका छन् । बजार बढाउनुमा सबैभन्दा ठूलो हात बिमा विमा समूहको रहेको छ जसको शेयर २०३.९८ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्, होटल, उत्पादनमूलक, विकास बैंक, वाणिज्य बैंक र फाइनान्स क्रमशः ७५.३१, ५३, ३५.८, १३.२७, १२.४८ र ११.५७ अंकले बढेका छन् । साताको सुरुदेखि नै ओरालो गतिमा रहेको बजार मंगलबार व्यवस्थापिका संसदले वाफिया विधेयकलाई अर्थसमितिमा नै फिर्ता गरिदिएपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको विश्लेषकहरु बताउँछन् ।