सोमबार नेपाल स्टक एक्सचेन्जमा सवा १ अर्बको कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको १८ लाख ४५ हजार ८ सय ७२ कित्ता शेयर ५ हजार ७ सय ८५ पटक खरिदविक्रि हुँदा १ अर्ब १९ करोड ६८ लाख ३९ हजार १ सय ५४ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार १ अर्ब ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।
कुल कारोबारमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ७ करोड १८ लाख ८ हजार ८ सय २४ रुपैँयाको कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको छ । नेशनल हाइड्रोपावरको साढे ५ करोडको कारोबार हुँदा एनएलजी र सिद्धार्थ इन्स्योरेन्सको ४ करोडमाथिको कारोबार भएको छ भने सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनबी बैंक, प्रिमियर इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
राष्ट्रिय बिमा कम्पनिका प्रोमोटर शेयरधनीहरुले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नेको इन्स्योरेन्स, जेविल्स फाइनान्स, युनियन फाइनान्स र सिनर्जी फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९६, ९.७८, ९.५२ र ९.४९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । आईसीएफसी फाइनान्स, साझा विकास बैंक, सानिमा माई हाइड्रो, लक्ष्मी लघुवित्त लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा सिन्धु विकास बैंक, सुर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, आईएलएफसीओ माइक्रोफाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायत छन् ।
सोमबार नेप्से परिसूचक ७.१७ अंकले घटेर १६१५.१० अंकमा कायम भएको छ । जलविद्युत् र फाइनान्स क्रमशः १७.०३ र २.९५ अंकले बढेका छन् । बिमा, उत्पादनमूलक, होटल, विकास बैंक र वाणिज्य बैंक क्रमशः १२८.३४, ३६.३२, १६.८१, ७.०५ र ४ अंकले घटेका छन् । अन्य समूह स्थीर छ ।