August 12th, 2019

आर्थिक–सामाजिक रुपान्तरणका लागि सिद्धान्तनिष्ठ लघुवित्त आवश्यक

बैंकिङ खबर । लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाई विषयमा सामूहिक छलफल भएको थियो ।

गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूलमर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिनुभयो । लघुवित्त क्षेत्रमा हाल देखा परेका विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँचआउने संकेत देखिएको उल्लेख गर्नुभयो । लघुवित्तमा उद्यमशिलता विकास महत्वपूर्ण हुने भएकोले लघुवित्त संस्थाहरु ग्राहक सदस्यहरुलाई स्थानीय श्रोत र साधनको भरपूर प्रयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रीतहुनुपर्ने सहभागीहरुको भनाई थियो । स्वच्छ लघुवित्त कार्यान्वयनका लागि सम्मेलनले एउटा कार्यदिशा तय गर्ने विश्वास गरिएको छ ।

लघुवित्तलाई सामाजिक व्यवसायको रुपमा नभई नाफामूलक दृष्टिकोणले हेर्ने प्रवृत्तिमा बढोत्तरी हुदै आएको कारण विभिन्न किसिमका विचलन देखापरेको र त्यस प्रकारका विचलनले विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक सामाजिक विकासमा बाधा पुग्ने देखिएको विषय छलफलमा उठेको थियो ।

सम्मेलनमा देशका सातै वटा प्रदेशबाट प्रतिनिधित्व हुनेगरी प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा सहभागीहरुले लघुवित्तलाई ग्राहकमूखि र उत्तरदायि बनाउन लघुवित्त संस्थाहरुले स्वयं अनुशासनलाई अनुसरण गर्नुपर्ने साथै नियामक निकायले लघुवित्त वित्तीय संस्थालाई आवश्यक्ता भन्दा बढी अनुमति दिने क्रमले गर्दा यसमा धेरै विकृतिहरु देखापरेको सहभागीहरुले बताएका छन् ।

गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञ लगायत केन्द्रमा आवद्ध ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागीता थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]