बैंकिङ खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेटले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले युके एड सक्षमसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्ने बताए । लघुवित्तको सेवाहरुलाई आधुनिक प्रविधीमा रुपान्तरणको आवश्यकता रहेको समेत उनले औल्याए ।
यससँगै अब लक्ष्मी लघुवित्तमा आवद्ध हुने ग्राहक सदस्यहरुले वाणिज्य बैंक सरहका मोवाइल बैकिङ, इन्टरनेट बैंकिङ, एटिएम, ट्यावलेट बैकिङ, डिजिटल पेमेन्ट, इ– पासबुक जस्ता अत्याधुनिक बैकिङ सुविधाहरु उपयोग गर्न सक्नेछन् ।
सक्षम, एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्यका सरकारबीच भएको सहमती अनुसार यु के एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । डिएफ्आइडी नेपालको लागि लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको साझेदारीमा यसको कार्यान्वयन गरिरहेको छ ।