June 17th, 2016

१०.२ प्रतिशतले रेमिट्यान्स बढ्दा यस्तो प्रभाव देखियो अर्थतन्त्रमा

remitanceचालू आर्थिक वर्ष २०७२/७३ को पहिलो दश महिनामा विप्रेषण(रेमिट्यान्स) आप्रवाह १०.२ प्रतिशतले बढेको छ । सो अवधिमा ५ खर्ब ३८ अर्ब ८७ करोड रुपैँयाको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेको छ । 

विप्रेषण आप्रवाहमा भएको वृद्धिको प्रभावा खुद ट्रान्सफर आयमा देखिएको छ । राष्ट्र बैंकका अनुसार यस्तो आय ११.८ प्रतिशतले बढेर ६ खर्ब २८ अर्ब ७ करोड रुपैँया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ प्रतिशतले बढेको थियो । 

विदेशीनेको संख्या घट्यो
विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भने कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या आर्थिक वर्ष २०७२/७३ को दश महिनामा गत वर्षको सोही अवधिको तुलनामा २२.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.९ प्रतिशतले बढेको थियो ।