बैंकिङ खबर । आर्थिक वर्ष २०७५।७६ को प्रथम ११ महिनामा धितोपत्रको दोस्रो बजारको बजार पुँजीकरण १५ खर्ब ७९ अर्ब पुगेको छ । बजार पुँजीकरण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३३ प्रतिशतले बढेको हो । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा १२ खर्ब ७० अर्ब रुपैयाँको बजारको पुँजीकरण भएको थियो ।
फ्लोट बजार पूँजीकरणमा पनि गत वर्षको तुलनामा ११.८७ प्रतिशतले बृद्धि भई चालु आवको जेठ अन्त्यमा रु. ५ खर्ब ५२ अर्ब कायम भएको छ । यस्तै चालु आवको जेठ मसान्तमा बजार पुँजीकरणमा कारोबारको प्रतिशत करीब ३८ प्रतिशतको कमी आएको छ ।
जेठको अन्त्यमा नेप्से सूचकांक १२६९.६ बिन्दु कायम भएको छ, जुन गत वर्षको सोही समयावधिकोे तुलनामा १.७९ प्रतिशतको बृद्धि हो । यस्तै सोही समयावधिमा फ्लोट सूचकांकमा पनि ३.७५ प्रतिशतले बृद्धि भई ९३.०६ कायम रहेको छ । सूचीकृत कम्पनीहरुको संख्यामा ७.१८ प्रतिशतको बृद्धि आई नेपाल स्टक एक्सचेञ्ज लि. मा कुल सूचीकृत कम्पनी संख्या २०९ पुगेको छ ।
धिताृपत्र कारोबार भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । जेठमसान्तसम्ममा रु. ९६ अर्ब ९९ करोड बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत आवको सोही समयावधिको तुलनामा करिब १५.८५ प्रतिशतको कमी हो । हाल नेप्सेमा औसत दैनिक कारोबार रकम रु ४३ करोड ८९ लाख रहेको छ जुन गत बर्षको तुलनामा १९.६ प्रशितले कमी हो ।