July 7th, 2019

बैंकलाई ब्रोकर लाइसेन्स दिन आनाकानी

नेपाल स्टक एक्सचेन्जले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिन आनाकानी गरेको लगानीकर्ताले आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स माग गर्न पाउने अनुमति दिएको झन्डै एक महिना बित्न लाग्दा पनि बैंकले ब्रोकर लाइसेन्स पाएका छैनन् ।

सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिन रोकेको आरोप लगाएका छन् । उनले बैंकलाई ब्रोकर लाइसेन्स दिन रोेकेको भन्दै आपूmहरू अर्थ मन्त्रालयमा डेलिगेसनका लागि जाने बताए । ‘हामी आइतबारसम्म अर्थ मन्त्रालयमा नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय अड्काएर राखेको छ भनेर जानकारी गराउनेछौं ।’

संयोजक ढकालले अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले ल्याएको प्रतिवेदनको ५८ बुँदामा समावेश भएको बैंकलाई ब्रोकर लाइसेन्स दिने काम नेप्सेले नगरेको आरोप लगाएका छन् ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा आनाकानी गरेर राज्यले दिएको निर्देशनको वास्तासमेत नगरी नेपाल राष्ट्र बैंकको निर्णय ब्याक गर्ने जालझेल सुरु भएको ढकालले बताए । उनले भने, ‘ब्रोकरहरूले बैंकसँग प्रतिस्पर्धा गर्न चाहँदैनन्, बजारलाई आफ्नो नियन्त्रणमा लिन र ब्रोकरकै एकाधिकार कायम राख्न अनावश्यक चलखेल सुरु भएको छ, यो कदापि मान्य हुनेछैन ।’ बैंकलाई ब्रोकर लाइसेन्स दिन रोक्न खोज्नेहरू कुनै पनि हालतमा सफल नहुने उनले बताए ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले बैंकलाई ब्रोकर लाइसेन्स दिन कुनै खालको चलखेल नभएको बताए । उनले भने, ‘अहिले तीनवटा बैंक मात्रै लाइसेन्सका लागि अनुमति माग गर्दै आएका छन्, हामीले सिफारिस गरी यसै साता धितोपत्र बोर्डमा पठाएका छौं ।’ अन्य बैंकहरू अनुमतिकै लागि नआएको पराजुलीले बताए ।

यस धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेप्सेले सिफारिस नगरेको दाबी गरे । उनले भने, ‘राष्ट्र बैंकले अनुमति दिएपछि बैंकहरूले सहायक कम्पनी खोली नेप्सेमा ब्रोकर लाइसेन्स माग गर्ने हो र नेप्सेको सिफारिसपछि मात्रै हामीले लाइसेन्स दिने हो,’ उनले भने, ‘हामी कहाँ सिफारिस नै आएको छैन । सिफारिस आएपछि हामीले ढिलाइ गर्ने भन्ने कुरै हँुदैन ।’

नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई ब्रोकर कम्पनी स्थापनाका लागि गत २ असारमा नै अनुमति दिएको हो । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, बैंक अफ काठमान्डू, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक, जनता बैंक, मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई ब्रोकर कम्पनी सञ्चालनका लागि सहायक कम्पनी खोल्न अनुमति दिएको हो । राजधानी दैनिकमा प्रकाशित