एकपटक नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीबि नेपाल एक कार्यक्रममा सहभागी हुन पोखरा पुगे । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र मानिन्छ । त्यसैले पनि त्यहाँ राम्रा र स्तरीय होटलहरु प्रशस्तै छन् । पोखरामा उनलाई त्यहाँको एउटा राम्रो होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । त्यो होटल कुनै विदेशीले संचालन गरेको होटल थियो । पोखरामा संचालित पाँच तारेजतिकै सुविधा दिने होटलहरुमा अधिकांश विदेशीको लगानी हुन्छ ।
गभर्नर डा. नेपाल एकजना विदेशीकै लगानीमा सञ्चालित सो होटलमा बस्ने भए । गभर्नर नेपाल त्यहाँ गए । नेपालको केन्द्रीय बैंकको गभर्नर नै आएपछि सो होटलका सञ्चालक आएर लगानी र सुरक्षाको क्षेत्रमा नेपाल प्रतिकुल रहेको भन्दै गभर्नरसंग दुखेसो पोख्न थाले ।
ती विदेशी होटल संचालकले गभर्नर नेपालसामु यहाँ लगानीको वातावरण मिलाउन सरकार असफल भएको टिप्पणी गरे । सुरक्षाको दृष्टिकोणले पनि नेपालमा उद्योगी तथा व्यवसायीहरु टिक्न नसकेको दाबी गरे । सरकारले उद्योगी–व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको आरोप लगाए । एउटा राम्रो प्रणाली नभएको बताए । नेपालमा यो छैन, त्यो छैन, यहाँ केही छैन भन्ने खालका गुनासाहरु ती व्यवसायीले गभर्नरसामू ‘नन्स्टप’ बेलिविस्तार लगाए ।
गभर्नरले ती होटल संचालकको कुरा ध्यानपूर्वक सुने । त्यसपछि उनले दायाँ–बायाँ हेरे । गज्जबले होटल सजाईएको थियो । विदेशी पर्यटकहरुले होटल भरिभराउ थियो । सबै रमाई–रमाई मनोरञ्जन लिईरहेका थिए । केही क्षण रोकिएका गभर्नर नेपालले ती होटल व्यवसायीलाई एउटा प्रश्न गरे, ‘नेपालमा केही छैन, यहाँ काम गरी खाने अवस्थै छैन, व्यवसाय नै राम्रो भएन भने, तिमि किन यहाँ बसेको त ?’गभर्नरबाट यस्तो प्रश्नको सायदै अपेक्षा गरेका ती होटल व्यवसायी अवाक भए । त्यसपछि उनले कुरा अन्तै मोडे । (मिडिया इन्टरनेशनको आयोजनामा गत आइतबार भएको बृहत आर्थिक कार्यक्रम समृद्धिको बाटोमा गभर्नर डा. नेपालले दिएको मन्तव्यमा आधारित ।)




