नेपाल स्टक एक्सचेन्जमा पछिल्लो दुई महिनाको अवधिमा १२ करोड बढी कित्ता सेयर सूचीकृत भएको छ । यो अवधिमा बजारमा बोनस सेयरको चाप बढी देखिएको नेप्सेको तथ्यांकले देखाएको छ । वैशाखदेखि हालसम्म १२ करोड २९ लाख ६३ हजार ५६३.६ कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार वैशाख देखिको तथ्यांकमा २४ कम्पनीको बोनस सेयर, नौ कम्पनीको प्राथमिक सेयर, आठ कम्पनीको हकप्रद, एक कम्पनीको ऋणपत्र र एक कम्पनीको ओडिनरी (साझेदारी) सेयर सूचीकृत भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा हकप्रद र बोनस सेयरको बाढी नै आएको तथ्यांकले देखाउँछ ।
तर, यसले सेयरको संख्यामा मात्रै वृद्धि गरेको र मूल्यमा कुनै फरक नपारेको पुँजी बजार लगानीकर्ता संघका उपाध्यक्ष राजु पौडेलले बताए । हकप्रद सेयर बजारमा बढी आउँदा आपूर्ति मात्रै बढेकाले बजारमा त्यसको नकारात्मक असर परेको उनको तर्क छ । बोनस सेयरको हकमा यसले लगानीकर्ताको सेयरको कित्ता त बढायो तर यसको सेयर मूल्य भने औसतमा र्हेर्दा बढेको छैन । लगानीकर्ताले अहिले शून्य लगानीमा पाएको सेयर होल्ड गरेर राख्न सके यसले राम्रो प्रतिफल दिने पौडेलले बताए ।
पछिल्लो दुई महिनाको अवधिमा २४ कम्पनीको ७ करोड ४३ लाख ८१ हजार ६३६.३३ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । बोनस सेयर सूचीकृत हुनेमा कृषि विकास बैंक, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, कञ्चन डेभलोपमेन्ट बैंक, विजय लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलोपमेन्ट बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, नबिल बैंक, जेबिल्स फाइनान्स, लाइफ इन्स्योरेन्स (नेपाल), नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, समिट लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, तिनाउँ विकास बैंक, हिमालयन बैंक, मिसन डेभलोपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, सोल्टी होटेल, भार्गव विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंक, एसबीआई बैंक, प्रभु बैंक र मिर्मिरे लघुवित्त वित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, आठ कम्पनीका ३ करोड १८ लाख १६ हजार १८ कित्ता प्राथमिक (आईपीओ) सेयर नेप्सेमा सूचीकृत भएका छन् । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालय ऊर्जा विकास कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथर पावर कम्पनी र स्पर्स लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर नेप्सेमा सूचीकृत भएका छन् ।
७ कम्पनीको १ करोड ४६ लाख ६७ हजार ७०९.२७ कित्ता हकप्रद सेयर जारी भएका छन् । हकप्रद जारी गर्ने रिलायन्स फाइनान्स, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स कम्पनी जेविल्स फाइनान्स कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् । त्यस्तै, युनाइटेड फाइनान्सको साझेदार सेयर र एनआईसी एसिया बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
राजधानी दैनिक प्रत्रिकामा प्रकाशित