June 28th, 2019

संसारकै शक्तिशाली मुलुक अमेरिकामा कति छन् बैंक ?

बैंकिङ खबर । फेडरल रिजर्भ अमेरिकाको केन्द्रीय बैंक हो । केन्द्रीय कार्यालयका अलावा फेडरल रिजर्वका १२ वटा क्षेत्रीय कार्यालयहरु छन् । यसका क्षेत्रीय कार्यालयहरु बोस्टन, न्युयोर्क, फिलाडेल्फिया, क्लिभल्याण्ड, रिचमण्ड, एटलान्टा, सिकागो, सेन्ट लुइन, मिन्नीपोलिस, कान्सास सिटी, डल्लास र सान फ्रान्सिसकोमा रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १८३५ वटा ठूला कमर्सियल बैंक रहेका छन् । त्यस्तै, साना डिपोजिटरी इन्स्टिच्युसन १५९ वटा रहेका छन् । यसबाहेक थुप्रै विदेशी बैंकहरु संचालनमा छन्, जसलाई चार प्रकारका विभाजन गरिएको छ ।

इतिहासको संक्षिप्त झलक
फेडरल बैंकिङ पोलिसीमा परिवर्तन आएसँगै १९८० को दशकपछि अमेरिकामा बैंकको संख्या अपत्यारिलो ढंगले घट्यो । फेडरल रिजर्भ र अफिस अफ र कन्ट्रोलर अफ करेन्सी(ओसीसी) जस्ता नियामक निकायले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर सेवा तथा शाखा विस्तार गर्न बन्देज लगाए । त्यसै समयमा ओसीसीले स्टेट लेभल बैंकका लागि एटीएम पोलिसी, कन्जुमर फी, धितो कर्जा जस्ता व्यवस्थाहरु कार्यान्वयनमा ल्यायो । यो नीतिले साना क्षेत्रीय स्तरका बैंकहरुलाई निरुत्साहन र ठूला राष्ट्रिय स्तरका बैंकलाई प्रोत्साहन गर्यो ।

१९९० पछि कंग्रेसले पनि यही नीतिलाई थप सबल बनाउँदै लग्यो । ग्लास स्टिगल एक्ट जस्ता दीर्घकालीन बैंकिङ कानुनमा सोही नीतिलाई बढावा दिइयो । साथमा इन्भेष्टमेन्ट बैंक र कमर्सियल बैंकलाई छुट्याइयो । त्यसपछि अमेरिकाको बैंकिङ क्षेत्रमा थुप्रै मर्जर र एक्विजिसन भए । यसले क्षेत्रीय स्तरका बैंकको संख्यामा अझै गिरावट आयो ।

१९९० र २००० को बीचको दशकमा सिटी ग्रुप र बैंक अफ अमेरिका जस्ता ठूलो बैंकहरुले वित्तीय क्षेत्रको अधिकांश हिस्सामा कब्जा जमाए । यी बैंकहरुले इन्भेष्टमेन्ट बैंकिङ, कमर्सियल बैंकिङ, बीमा र सेयर कारोबारलाई एकै छानामुनि समेटे । यी संस्थाहरु यति वृहत भए कि नियामकले पनि यसलाई नियन्त्रण र नियमनमा ल्याउन सकेन र फलतः २००८ मा वित्तीय संकट आइलाग्यो ।

अहिले अमेरिकाको बैंकिङ क्षेत्र निकै विकसित भइसकेको छ । जेपी मोर्गन चेज, बैंक अफ अमेरिका, सिटी ग्रुप, वेल्स फार्गो आदि अमेरिकाका टप बैंकहरु हुन् । जेपी मोगर्न चेज विश्वका टप बैंकहरुको छैटौँ नम्बरमा छ भने बैंक अफ अमेरिका नवौँ र वेल्स फार्गो १२औँ नम्बरमा छ । त्यस्तै, सिटी ग्रुप १६औँ नम्बरमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]