२०७३ असार १ गते

बिमाले बढायो बुधबारको नेप्से, कारोबार घट्यो, १० कम्पनिको शेयर मूल्य १० प्रतिशतले बढ्यो

nepseसाताको बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको १७ लाख ९२ हजार ४ सय ५९ कित्ता शेयर ५ हजार ९ सय ९५ पटक खरिदविक्रि हुँदा १ अर्ब ३९ करोड ९५ लाख २५ हजार ९ सय ४५ रुपैँयाको शेयर कारोबार भएको हो । मंगलबारको तुलनामा कारोबार रकम ८० करोडले घटेको हो । मंगलबार २ अर्ब १९ करोडको कारोबार भएको थियो । 

बुधबार सबैभन्दा धेरै एनबी बैंकको ९ करोड ४६ लाख २६ हजार २६ रुपैँयाको कारोबारम भएको छ भने युनाइटेड इनस्योरेन्सको सवा ७ करोडको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको पौने ६ करोड, लुम्बिनी जेनेरल इन्स्योरेन्सको ५ करोड ६० लाख, नेशनल लाइफ इन्स्योरेन्सको साढे ५ करोड माथि र एसियन लाइफ इन्स्योरेन्सको झन्डै साढे ५ करोडको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्सको पनि ५ करोडमाथिको शेयर कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको साढे ४ करोडमाथिको शेयर कारोबार हुँदा प्रभु इन्स्योरेन्सको सवा ४ करोडको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको पौने ४ करोडको शेयर कारोबार भएको छ । 

१० वटा कम्पनिको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । बोटलर्स नेपाल, एनएलजी इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, देवः विकास बैंक, बुटवल पावर कम्पनि, प्राइम लाइफ इन्स्योरेन्स, बरुण हाइड्रो पावर र ओम डेभलपमेन्ट बैंक रहेका छन् । गुमाउनेमा नमस्ते वित्तीय संस्था, गुडविल फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, रिलायन्स लोटस फाइनान्स लगायत छन् । 

कारोबार रकम घटेपनि बुधबार नेप्से परिसूचक ६.३२ अंकले बढेर १६२०.४७ अंकमा पुगेको छ । वाणिज्य बैंक, होटल र फाइनान्सबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बिमा समूह २६७.०४ अंकले बढेको छ । जलसविद्युत्, उत्पादनमूलक, विकास बैंक र अन्य क्रमशः ३४.२३, १८, ४.७६ र २.३५ अंकले बढेका छन् । होटल, वाणिज्य बैंक र फाइनान्स क्रमशः १५.२२, ६.३७ र ०.६१ अंकले घटेका छन् ।