बैंकिङ खबर । रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले करिव डेढ लाख बराबरको कर्जा मिनाहा गरेको छ । शाखा कार्यालय फर्साटिकर, रुपन्देहीमा मिति २०७४।०७।२७ गते देखि पत्थरगन्ज बैंकिङ्ग समुदायमा आबद्ध सदस्य रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. १९, पत्थरगन्ज निवासी ३६ वर्षीय मिना थारुको गत बैशाख १४ गते हृदयघातका कारण मृत्यु भएपछि संस्थाले कर्जा मिनाहा गर्ने निर्णय गरेको हो ।
सोही अनुसार मृतक चौधरीको परिवारलाई समवेदना दिँदैसंस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माले एक लाख चवालीस हजार छ सय छयसठ्ठी रुपैयाँ बराबरको कर्जा मिनाहा भएको पत्र दिए । अध्यक्ष विश्वकर्माले मृतक मिनाका श्रीमान द्वारिका थारुलाई कर्जा मिनाहाको पत्रसँगै काजक्रिया खर्च बापतको तीन हजार र हालसम्म संस्थामा बचत भएको पच्चिस हजार तीन सय उन्सत्तरी रुपैयाँ समेत प्रदान गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष विश्वकर्माले लघुवित्त मार्फत महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्य राखेकाले फजुल खर्चमा ऋण नलिन र जुन उद्देश्यको लागि ऋण माग गर्नुहुन्छ सोही शिर्षकमा लगानी गर्न समेत आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जनउत्थान ग्राहक संरक्षणकोष नीति २०७४ अनुसार समुह सदस्यको मृत्यु हुँदा कर्जा मिनाहा गर्दै आएको जानकारी दिए । उनले संस्थामा आवद्ध बैंकिङ्ग सुदायका सदस्यलाई बचत गर्ने बानीको विकास गराउनुका साथै हरेक सुख दुखमा साथ रहेको आभास दिलाउनका लागि यस्ता खालका कार्यक्रमहरु गरिएको बताए ।
जनउत्थानले चालु आर्थिक वर्षमा सुत्केरी खर्च १६४ जनालाई दुई लाख छयालिस हजार, क्रिया खर्च ४३ जनालाई एल लाख उनान्तीस हजार, ऋण मिनाहा २१ जनालाई नौ लाख अठ्ठाइस हजार नौ सय अन्ठाउन्न तथा १२ जनालाई आर्थिक सहयोग पचास हजार उपलब्ध गराएको संस्थाका वरिष्ठ अधिकृत इन्द्र बराली ले जानकारी गराए । संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव छत्तिस हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।