June 7th, 2019

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्काशन : १०.५% व्याज, अन्य सुविधा पनि

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकले दुईअर्ब रुपैयाँ बराबरको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ निष्काशन गरेको छ । बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ । सोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्टमार्फत् अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्र किन्नेले १०.५० प्रतिशत ब्याजदर पाउने छन् । ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैंक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितोस्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको छ । ७ बर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ ।

यसअघि पनि बैंकले ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७’ लगायत अन्य निष्काशनहरु पनि गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]