June 13th, 2016

सोमबारको नेप्से : पौने २ अर्बको कारोबार, १६०९.५९ अंकमा परिसूचक

economicसोमबार नेपाल स्टक एक्स्चेन्जमा झन्डै पौने २ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनिको १९ लाख ५५ हजार २ सय ३३ कित्ता शेयर ६ हजार ८ सय १८ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ७१ करोड २२ लाख ७२ हजार १ सय ८० रुपैँयाको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार १ अर्ब ९६ करोड रुपैँयाको कारोबार भएको थियो । 

एभरेष्ट बैंक र एनबी बैंकको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । एभरेष्ट बैंकको १५ करोड २७ लाख ७० हजार ४१ रुपैँयाको कारोबार हुँदा एनबी बैंकको १३ करोड ७१ लाख ५ हजार ५ सय ६३ रुपैँयाको शेयर कारोबार भएको । केही समययतादेखि नै एनबी बैंकको शेयरमा लगानीकर्ताको राम्रो आकर्षण रहेको छ । फस्र्ट माइक्रोफाइनान्स र स्टान्डर्ड चार्टर्ड बैंकको ७ करोडमाथिको कारोबार हुँदा नेपाल बैंक, रुरल माइक्रोफाइनान्स, डिप्रोस्क डेभलपमेन्ट बैंक र एनएमबी बैंकको ५ करोडमाथिको कारोबार भएको छ भने युनाइटेड इन्स्योरेन्स र छिमेक लघुवित्तको क्रमशः ४ करोड र ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

रुरल माइक्रोफाइनान्स, ओम डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स र आईएलएफसीओ माइक्रोफाइनान्सले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा स्वरोजगार लघुवित्तका लगानीकर्ताले साढे ९ र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले ९.११ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुडविल फाइनान्स, निर्धन उत्थान बैंक, कालिका माइक्रोक्रेडिट, स्वाबलम्बन विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा कञ्चन डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स लगायत छन् । 

कारोबार रकम घटेको दिन नेप्से परिसूचकले भने पुनः नयाँ रेकर्ड बनाएको छ । सोमबारको शेयर कारोबार सुरु भएदेखि नै बढ्दै गएको बजार २५ अंकसम्म बढेर फर्किएको छ । अन्ततः परिसूचक ११.६३ अंकले बढेर १६०९.५९ अंकमा पुगेर सोमबारको कारोबार बन्द भएको छ । सोमबार कारोबार भएका ४ वटा समूह घटेका छन् भने ४ वटा समूह बढेका छन् । सबैभन्दा धेरै विकास बैंक ४१.३ अंकले बढेको छ भने वाणिज्य बैंक, होटल र जलविद्युत् क्रमशः १४.८९, ४.७२ र ३.८९ अंकले बढेका छन् । बिमा समूह सबैभन्दा धेरै ४९.२४ अंकले घटेको छ भने उत्पादनमूलक, अन्य र फाइनान्स क्रमशः २५.९९, २.३५ र ०.५८ अंकले घटेका छन् ।