बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले बर्दियाको मैनापोखरमा आवद्ध ६२ महिला सदस्यहरुलाई तीन दिने तालिम दिएको छ । संस्थाले निःशुल्क रुपमा लुगा धुने सर्फ, दालमोठ तथा श्रृङगार सामाग्री बनाउने तालिम प्रदान गरेको हो । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, दालमोठ तथा श्रृङगार सामाग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन् ।
लघुवित्तका शाखा प्रमुख तेज राज न्यौपानेले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने तथा कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ९२० जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४४ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. १ अर्ब ७० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४२ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।