बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङद्धारा आयोजित पहिलो चरणको केन्द्र व्यवस्थापन तालिम बिहीबार सम्पन्न भएको छ ।
संस्थाले आफ्ना २१ वटा शाखा कार्यालयहरु मार्फत बैशाख २६ गतेबाट चरणबद्ध रुपमा तालिमहरु सञ्चालन गर्दै आईरहेको थियो ।
लघुवित्त कार्यक्रमका केन्द्रहरुको गुणस्तर कमजोर भईरहेको पछिल्लो स्थितीलाई मध्येनजर गर्दै संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरण गर्ने उद्देश्य साथ शाखा कार्यालय अन्तर्गत रहेका केन्द्रहरुको गुणस्तरका आधारमा राम्रा, कमजोर र अति कमजोर गरी तिन वटा क्याटगोरी छुट्टयाई तालिम सञ्चालन गरेको संस्थाले पहिलो चरणमा राम्रा केन्द्रहरुको तालिम समापन गरेको हो ।
पहिलो चरणको अन्तिम तालिम बिहीबार संस्थाको रामपुर शाखा कार्यालय पाल्पामा सम्पन्न भएको छ । तालिममा संस्थाको केन्द्रिय कार्यालयको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो भने बाह्य सहजकर्ताको रुपमा संस्थाको तानसेन शाखा कार्यालयका प्रवन्धक सुमन बस्याल रहेको संस्थाले जनाएको छ ।
८ दिनसम्म निरन्तर सञ्चालीत तालिममा मुख्यतया केन्द्र के हो ? केन्द्रलाई व्यवस्थापन कसरी गर्ने, केन्द्रमा गर्नुपर्ने मुख्य कार्यहरु, केन्द्रमा हुनुपर्ने गुण र विशेषताहरु, केन्द्र व्यवस्थापनको महत्व, केन्द्र मुल्याङ्कन, मुल्याङ्कनका आधार र अंक, केन्द्रका पदाधिकारीको काम कर्तव्य र अधिकार र संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको विषयमा नवनिर्वाचीत केन्द्र प्रमुख र उपप्रमुखलाई प्रशिक्षण गरिुउको संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
साविक चारतारे युवा क्लव सिवाईसी नेपालको मुख्य प्रवद्र्धनमा स्थापित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा हाल ३८ हजार सदस्य रहेका छन् । संस्थाले आफ्ना २१ वटा शाखा कार्यालयहरु मार्फत सदस्यहरुबाट संकलित बचत ६२ करोड, सदस्यहरुको आय आर्जनका क्षेत्रमा लगानी गरेको बाँकी ऋण ९४ करोड र कुल सम्पत्ती (वासलात) १ अर्व १५ करोडको रहेको सुचना अधिकृत जि.सी. ले बताए ।