June 12th, 2016

आइतबारको नेप्से : झन्डै २ अर्बको कारोबार हुँदा १६ सय नजिक परिसूचक

economicsसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै २ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको २१ लाख ३१ हजार ८ सय ५९ कित्ता शेयर ७ हजार ३ सय ५४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९६ करोड ४७ लाख २३ हजार ५ सय ४१ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम आजसम्मकै उच्च हो । 

एनबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण दिनदिनै बढिरहेको छ । केही दिनयता अत्याधिक कारोबार गर्दै आएको एनबी बैंकको आइतबार पनि सबैभन्दा धेरै ३५ करोड ५८ लाख ६८ हजार १ सय ८७ रुपैँयाको शेयर कारोबार भएको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सको पौने १२ करोड र एभरेष्ट बैंकको झन्डै ११ करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको ८ करोडमाथिको शेयर कारोबार भएको छ भने डिप्रास्क डेभलपमेन्ट बैंक र प्रिमियर इन्स्योरेन्सको ५ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंक, प्रभु इन्स्योरेन्स, नेशनल लाइफ इन्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतको साढे ४ करोडमाथिको शेयर कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले आइतबार १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिन्धु विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, नेपाल इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले क्रमशः ९.९३, ९.८०, ९.५५, ९.३९ र ९.३७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । डिप्रास्क डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, सिटिजन्स बैंक प्रोमोटर शेयर, मन्जुश्री फाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा रिडी हाइड्रोपावर, ओमी माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, फेवा विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायत छन् । 

नेप्से परिसूचकले पनि आइतबार नयाँ रेकर्ड बनाएको छ । ३१.२६ अंकले बढेर १५९७.९६ अंकमा पुगी आइतबारको कारोबार बन्द भएको छ । जलविद्युत् समूहबाहेक सबै समह उकालो लागेका छन् । सबैभन्दा धेरै वाणिज्य बैंक ४७.४७ अंकले बढेको छ भने विमा, विकास बैंक, होटल, फाइनान्स र अन्य क्रमशः ३०.७, २२.२७, १०.७९, १.४१ र १.१७ अंकले बढेका छन् । जलविद्युत् भने ८.३ अंकले घटेको छ ।