बैंकिङ खबर । आशा लघुवित्तले कैलालीको मसुरियामा सीपमूलक तालिम सम्पन्न गरेको छ । लघुवित्तले ३ दिने सीपमूलक तालिम संचालन गरेको हो । वित्तीय संस्थाले शाखा कार्यालय मसुरिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख आशिष थारुले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिम प्रशिक्षकमा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेल रहेकी थिईन् ।
उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहनेविचार व्यक्त गरे ।
हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५ सय ७६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४३ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ६१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।