बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले १४, १५ र १६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थालेशाखा कार्यालय अत्तरीया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ७० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, स्याम्पु तथा अचार बनाउने तालिम प्रदान गरेको हो । उक्त तालिम प्रशिक्षकमा संस्थामा कार्यरत कल्याणी खरेल रहेकी थिइन् ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख गणेश प्रसाद भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ ,स्याम्पु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५ सय ६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४३ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ६१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।