Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयर किन्दै लगानीकर्ता

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । पछिल्लो समय परिसूचक नेप्से बढ्दो अवस्थामा पुगेपछि लगानीकर्ताले शेयरको माग थप बढाएका छन् । केही दिन बैंकिङ क्षेत्रको शेयरमा आकर्षित भएका लगानीकर्ता फेरी बीमा कम्पनीको शेयरको खरिदचाप बढाएका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा लैजान विभिन्न सहुलियत घोषणा गर्दै आइतबार निर्देशिका जारी गरेपछि लगानीकर्ताले बीमा कम्पनीहरुको शेयरको माग बढाएका हुन् । बजारमा अत्यधिक माग भएको र विक्री चाप नभएपछि जीवन बीमा र निर्जीवन बीमा दुबै समुहमा उच्च वृद्धि भएको छ ।

नयाँ वर्षको सुरुवातमा बजार दुई वर्ष यताकै न्युन विन्दुमा रहेको थियो । अधिकांश कम्पनीहरुको बजार मूल्य कम भएका कारण केही अल्पकालिन लगानीकर्ताले शेयरको माग बढाएका थिए । त्यस लगत्तै परिसूचक सँगसँगै कारोबार रकममा उच्च वृद्धि भयो । अन्य लगानीकर्ता पनि कारोबारमा आए । फलस्वरुप परिसूचक नेप्सेमा लगातार वृद्धि हुन पुग्यो । शेयर विश्लेषकहरु भने बैंकमा निक्षेप परिपक्व भएको  र अहिले नविकरण गर्दा ब्याज कम पाउने स्थिति छ । त्यसैले बैंकले दिने ब्याज भन्दा कम्पनीहरुले दिने लाभांश बढी हुने सम्भावना देखिएकाले लगानीकर्ताले शेयरको कारोबार बढाएको बताएका छन् ।

दुई साता अघि वाणिज्य बैंकहरुको कारोबार बढी देखिएकोमा पछिल्लो समय बीमा, माइक्रोफाइनान्स, विकास बैंक लगायतका समुहका कम्पनीहरुको शेयरको माग उच्च देखिएको छ ।

आइतबार लगानीकर्ताले बाणिज्य बैंकको शेयरबाट प्राप्त भएको नाफा बुक गर्दै बीमा क्षेत्रमा लगानी बढाएको देखिएको छ । जसले गर्दा बाणिज्य बैंकहरुको शेयर परिसूचकहरु केही तल झरेको देखिन्छ ।

अर्कोतर्फ बजारमा लगानीकर्ताले आफुसँग भएको पैसा तीन चार ठाउँमा घुमाउन सक्ने अवस्था रहेकाले पनि बजारमा कारोबार रकम उच्च भएको एक लगानीकर्ताले बताए । अहिले मार्जिन कारोबार सुविधा लिएर पनि शेयर खरिद गर्ने लगानीकर्ता पनि हाबी देखिएका छन् । ठुला लगानीकर्ताले पनि कारोबार बढाएको ब्रोकरहरु बताउँछन् ।

Ad