बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बेलौरी कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ५८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।
तालि कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सरिता भट्टले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण गरेकी हुन् । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४ सय जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४३ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।।