सामूहिक लगानी कोष (म्युचुअल फन्ड) तथा संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा लगानी गर्न नपाउने भएका छन् । संसद्मा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा यस्तो व्यवस्था गर्न लागिएको हो । वाफियाको दफा ९ मा सर्वसाधारणका लागि छुट्याएको शेयरमा प्राकृतिक व्यक्तिले मात्र लगानी गर्न सक्ने प्रावधान राखिएको छ । सामूहिक लगानी कोष नियमावली–०६७ मा म्युचुअल फन्डलाई पब्लिकमा निष्काशित सेयरको ५ प्रतिशत सर्वसाधारणलाई भन्दा पहिले बाडफाँट गर्ने व्यवस्था छ ।
अरु केके छ वाफियामा ?
बाफियामा बैंक वा वित्तीय संस्थाले जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने प्रावधान राखिएको छ । यसरी छुट्याइएको सेयर प्राकृतिक व्यक्तिले मात्र खरिद गर्न सक्नेछन् । तर, सर्वसाधारणलाई छुुट्याएको सेयर तोकिएको अवधिभित्र बिक्री हुन नसके अन्य फर्म, कम्पनी वा संस्थालाई बिक्री गर्न सकिने व्यवस्था राखिएको छ । यद्यपि, नयाँ वाफिया आइसकेको छैन ।
यस्तो छ अन्तर्राष्ट्रिय ट्रेन्ड
अन्तरराष्ट्रिय पुँजी बजारको ट्रेन्ड हेर्दा धितोपत्र बजारका अधिकांश धितोपत्र उपकरणमा संस्थागत लगानीकर्ता र लगानी व्यवस्थापकको बाहुल्य पाइन्छ । भारतमा पनि बुक बिल्डिङ प्रक्रियाबाट सार्वजनिक निष्कासन गरिने सेयरको मूल्य निर्धारण गर्दा न्यूनतम ६० प्रतिशत संस्थागत लगानीकर्ताको सहभागिता हुनुपर्ने व्यवस्था छ । ती संस्था धितोपत्र बजारबाट मान्यताप्राप्त हुनुपर्छ ।