बैंकिङ खबर । ज्योति विकास बैंक र हाम्रो विकास बैंक बीच एकिकृत कारोबार सुरु भएको छ । राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोटको एक जिल्ला कार्यक्षेत्र भएको हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको शुभारम्भ गरे । बैंकले एकीकृत कारोबार शुभारम्भको अवसर पारेर नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले सबल विकास बैंकको रुपमा रहेको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको बताए । बैंकको एकीकृत कारोबार सुरु भएसँगै सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे ।
ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । हाम्रो विकास बैंकका हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडी स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अझैमजबुत र विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पँुजीको हिसावले सबै भन्दा ठुलो विकास बैंक भएको बताए । ज्योति विकास बैंक शाखा सञ्जाल र बैंकिङ सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको भन्दै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाए ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई हाम्रो विकास बैंकका प्रमूख कार्यकारी अधिकृत पारस राज कंडेलले स्वागत गरेका थिए । नुवाकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी उद्धव बहादुर थापा तथा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ र विदुर नगरपालिकाका नगर प्रमूख सन्जु पण्डितले बैंकलाई सफलताको शुभकामना ब्यक्त गरे ।
एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड रुपैयाँ र कर्जा २३ अर्व ५७ करोड रुपैयाँ पुगेको छ । शाखा संख्या ९५ वटा एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ वटा पुगेको छ । बैंकको चुक्ता पूँजी ३ अर्व १० करोड रुपैयाँ पुगेसँगै देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा एटीएम संचालनको तयारी गरिरहेको बैंकले जनाएको छ ।