
बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव भएको भन्दै कर्जा प्रवाह रोकिरहेको तथा उच्च व्याजदरमा अन्तर बैंक कारोबार भइरहेको अवस्थामा राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा भने बैंकहरुको ध्यान खासै गएको देखिदैन । केन्द्रिय बैंकले विहीबार सात दिने ५ अर्ब बराबरको रिपो जारी गरेको थियो तर बैंकहरुको तर्फबाट उक्त रिपोमा १ अर्ब ९५ करोडकोे मात्र आवेदन परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।
केन्द्रिय बैंकले ७ दिनको लागि रिपो मार्फत बैंकहरुलाई तरलता पठाएको हो । बैंकहरुलाई रिपो मार्फत तरलता पठाउँदा न्यूनतम ५ प्रतिशतलाई न्यूनतम आधार विन्दु मानेर त्यो भन्दा माथि ब्याज कबोल गर्ने बैंकहरुलाई उक्त रकम उपलब्ध गराउँछ । पछिल्लो समय केही बैंकहरुमा लगानी योग्य रकमको अभाव हुँदा कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत भन्दा माथि पुगेको देखिन्छ । सिसिडीलाई व्यवस्थापन गर्न बैंकहरु अन्तरबैंक कारोबारमा जोड दिदा यसले अन्तर बैंक ब्याजदरमा प्रभाव पारेको थियो ।
उद्योगी व्यवसायीले आर्थिक वर्षको प्रत्येक त्रैमासमा सरकारलाई करको रुपमा ठुलो रकम बुझाउने गर्दछन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमास सकीनै लागेको अवस्थामा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थामा राखेको नगद राजश्वको रुपमा सरकारलाई बुझाउँछन् । कतिपय बैंक तथा वित्तीय संस्थामा अहिले पनि सिसिडी नाघिसकेको अवस्थामा अबको १५ दिनमा करीब ५० अर्ब भन्दा बढी रकम सरकारको कोषमा जाने देखिन्छ । यदि सरकारले समयमा नै बजेट खर्च गरेर बजारमा तरलता प्रवाह नगराउने हो भने बैंकहरुलाई सिसिडि व्यवस्थापन गर्न ठुलै समस्या आउने देखिन्छ । यस अवस्थामा सिसिडी व्यवस्थापनको लागि बैंकहरुको अन्तर बैंक व्याजदर अझै बढ्ने सम्भावना रहेको छ ।


