आइतबार ३५ अंकले घटेर निराशा फैलाएको नेप्सेले सोमबार पुनः आशा जगाएको छ । सोमबार नेप्से परिसूचक ३३.६६ अंकले बढेर १५१६.८० अंकमा पुगेको छ । होटल बाहेक सबै समूहहरु उकालो लागेका छन् । बजार बढाउनेमा सबैभन्दा ठूलो हात बिमा समूहको नै रहेको छ । बिमा समूह १७५.३५ अंकले बढेको छ । जलविद्युत्, वाणिज्य बैँक र विकास बैँक समूह पनि क्रमशः ५७.१६, ३८.०१ र २५.५६ अंकले बढेका छन् । फाइनान्स र अन्य समूह क्रमशः ६.७१ र २.३४ अंकले बढ्दा होटल भने ३९.१४ अंकले घटेको छ ।
कारोबार रकम १ अर्ब १५ करोड नाघेको छ । दिनभरिमा १ सय ३४ वटा कम्पनिको १६ लाख २२ हजार ६ सय २८ कित्ता शेयर ५ हजार ३ सय ९५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १५ करोड १८ लाख ४४ हजार २४ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम पनि आइतबारको तुलनामा थोरै बढेको हो । आइतबार १ अर्ब १४ करोडभन्दा माथिको शेयर कारोबार भएको थियो ।
सोमबार सानिमा बैँकको शेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । सानिमाको मात्रै २४ करोड ३४ लाख ४२ हजार १ सय ९५ रुपैँयाको कारोबार भएको छ । सानिमा बैँकको प्रोमोटर शेयरको पनि झन्डै ६ करोडको कारोबार भएको छ । एनबी बैँकको ९ करोड ८३ लाख रुपैँयाको शेयर कारोबार हुँदा सोल्टी होटलको पौने ५ करोडमाथिको शेयर कारोबार भएको छ भने सिटिजन्स बैँकको झन्डै पोने ४ करोडको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ३ करोड ३० लाखभन्दा बढीको शेयर कारोबार हुँदा हिमालयन जेनेरल इन्स्योरेन्सको झन्डै ३ करोडको कारोबार भएको छ । मेगा बैँक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनि लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
ओमी माइक्रोफाइनान्स र कन्ट्री डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । काष्टमण्डप डेभलपमेन्ट बैँक, प्रिमियर इन्स्योरेन्स, राप्तीभेरी विकास बैँक लगाष्तले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको जेविल्स फाइनान्सको शेयर मूल्य ९.६३ प्रतिशतले घटेको छ । कर्णाली डेभलपमेन्ट बैँक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैँकका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मनास्लु विकास बैँक, नमस्ते वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतले पनि गुमाएका छन् ।




