March 19th, 2019

बाख्रा पालनका लागि छुट्टै बीमालेख, यसरी लिनुहोस् फाइदा

बैंकिङ खबर । बीमा समितिले हालै बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको छ । पशु बीमालेख अन्तर्गत बाख्राको बीमा गरिदै आए पनि व्यवहारिक रुपमा उपयोगी नभएपछि समितिले छुट्टै बाख्रा बीमालेख जारी गरेको हो ।

बीमा समितिले पशु र बाख्राको जोखिम एउटै नहुने भएपछि धेरै दाबीको समस्या पर्ने गरेकाले कृषक र कम्पनीहरुको आवश्यकतालाई मध्यनजर गरी समितिले बाख्रा बीमालेख नै जारी गरेको हो । समितिले निर्माण गरेको उक्त बिमा सबै निर्जीवन बीमा कम्पनीहरुले विक्री गर्न पाउँनेछन् ।

यस बीमालेखमा आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो र भूस्खलनका कारण बाख्रा मरेमा कम्पनीले ९० प्रतिशत रकम भुक्तानी गर्नेछ । त्यसैगरी आँधिवेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक र रोगबाट बाख्रा मरेमा कम्पनीले दाबी भुक्तानी गर्नेछ । उक्त बीमा योजनासँग कृषकहरुले २ लाख रुपैयाँसम्मको दुर्घटनाको मृत्यू बीमा समेत समावेश गरिएको छ ।

बीमालेखमा नसमिटिने अवस्थाहरु

कम्पनीले हराएको बाख्राको सुरक्षा प्रदान गर्दैन । त्यस्तै, कृषकले बीमा गर्ने समयमा बाख्राको सम्बन्धमा झुट्टा विवरण दिएको फेला परेमा वा भेटिएमा पनि कम्पनीले क्षतिपूर्ति दिँदैन् ।

साथै कृषक वा कृषकको परिवारका सदस्यको लापरवाही, जानाजान गरेको गल्ती, मनोरञ्जन वा रिसिईवी लगायतका गतिविधिबाट बाख्रा मरेमा पनि कम्पनीले भुक्तानी गर्दैन ।

त्यस्तै, सरकारी निकायको आदेशमा बाख्रालाई नष्ट गर्नुपरेमा, बाख्राको शरीरमा लगाई राखेको सङकेत पट्टा बीमा दाबीको अवस्थामा शरीरमा नभेटिएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

बीमालेख दाबीका शर्तहरु
समितिले जारी गरेको बाख्रा बीमालेख अनुसार व्यसायिक कृषकहरुले बाख्राहरुलाई अनिवार्य रुपमा संक्रमण रोगहरुको खोप लगाएको हुनुपर्नेछ । बीमालेख अनुसार २० भन्दा बढी बाख्रा पालन गरिएको अवस्थामा खोप लगाउँन पर्नेछ ।

यसरी लगाइएको खोपको बारेमा प्राविधकबाट प्रमाणित गरी बीमकलाई जानकारी गराएपछि मात्रै उक्त रोगहरुको जोखिम बहन हुनेछ । साथै १० भन्दा बढी बयस्क बाख्रा पालिएको अवस्थामा आंशिक बीमा गर्न पाईनेछैन ।

कृषकहरुले बाख्राको बिमांक रकमको ५ प्रतिशत मात्रै बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सक्नेछन् बीमांक रकम भने स्थानीय पशुसेवा शाखाले तोकेका बमोजिम हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]