साताभर २७ हजार ६ सय ३४ कारोबारबाट १ सय ४८ कम्पनीहरुको १ करोड ३ लाख ६६ हजार ९ सय ३० कित्ता शेयरहरु खरीद बिक्री भए । जसबाट ५ अर्ब ९५ करोड ५१ लाख २२ हजार रुपैँया बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १६ दशमलव ६३ प्रतिशत कम हो । अघिल्लो साता १ सय ४७ कम्पनीको २८ हजार ८ सय ८० कारोबारबाट १ करोड ४६ लाख ७० कित्ता शेयर किनबेच भएको थियो । यस बाट रू. ७ अर्ब १४ करोड ९४ लाख ९४ हजार बराबरको रकम कारोबार भएको थियो ।
यस साताको नेप्से परिसूचक ४.१३ अङ्कले घटेको छ । आइतबार १ हजार ५ सय २२ दशमलव २५ विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन विहीबार घटेर १ हजार ५ सय १८ दशमलव १२ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव १७ अङ्कले बढेर ३ सय २८ अङ्कमा आइपुगेको छ । पछिल्ला केही साता उच्च अङ्कले बढिरहेको नेप्से परिसूचक यस साता भने केही घटेको हो । सातामा बीमा समूहको परिसूचक उच्च अङ्कले घटेको छ भने जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा बृद्धि भएको छ । साताको सोमबार र मङ्गलबार भने सामान्य अङ्कले नेप्से परिसूचक बढेको थियो ।
यस साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ सय ५९ दशमलव ७८ अङ्कले बढेको छ । जलविद्युत समूहको परिसूचक १ सय ४९ दशमलव ५३ अङ्कले बढेकाछ । साताभरी यी समूहमा लगानीकर्ताको राम्रो आकर्षण रहेको पाइयो । पछिल्लो समयमा जलविद्युत कम्पनीहरुले हकप्रद शेयर जारी गर्ने खबरहरु लगातार आइरहेपछि यस समूहको आकर्षण बढेको हो । वीमा समूहको परिसूचक भने १ सय ४४ दशमलव ४६ अङ्कले घटेको छ ।
यो साता कारोबार रकमका आधारमा सानीमा बैङ्क अग्रस्थानमा रहेको छ जसले ४१ करोड ८२ लाख रुपैँया बराबरको शेयर कारोबार गरेको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ जसको १५ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ । त्यसैगरी, कारोबार सङ्ख्याको आधारमा सिटिजन बैङ्क इन्टरनेशनल अग्रस्थानमा रहेको छ जसले २ हजार ५९ ओटा कारोबार गरेको छ ।




