२०७५ फाल्गुन ९ गते

यस्तो छ नेपालमा नोटको इतिहास

बैंकिङ खबर। के तपाईलाई थाहा छ ? नेपालमा कति रुपैयाँ बराबरको नोट तथा सिक्का छापिएका होलान? नेपालमा नोटको छपाई हुन थालेको वि.सं. २००२ देखि हो । त्यतिबेला सदरमुलुकी खानाबाट कागजको नोट छाप्ने काम गरिन्थ्यो । तर वि.सं. २०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि भने २०१६ सालदेखि राष्ट्र बैंक आफैले नोट निष्काशन तथा छपाई गर्ने काम गरेको छ । 

इतिहासलाई हेर्नेहो भने अहिले सम्म नेपालमा १ सय ५४ प्रकारका नोट छापिएको पाइन्छ । नेपालमा १ रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, २५ रुपैयाँ, ५० रुपैयाँ, १०० रुपैयाँ, २५० रुपैयाँ, ५०० रुपैयाँ र १००० रुपैयाँ दरका नोट छापिएको पाइन्छ । तर पछिल्लो समय एक र दुई रुपैयाँका नोटहरु छाप्न छाडिएको छ भने २५ र २५० रुपैयाँ दरका नोटहरु पनि छपाई हुँदैन् । 

नेपालमा छापिएका नोटमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति जनकराज हुन्। जो वि.सं. २००२ मा तत्कालीन सदर मुलुकी खानाका प्रमुख खजाञ्ची थिए । नेपाल राष्ट्र बैंकले नोट छाप्न थालेपछि नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हिमालय शमशेर राणा हुन् । नेपाल राष्ट्र बैंकले नोट छाप्नुभन्दा अघि पैसालाई मोरु भन्ने गरिन्थ्यो । राष्ट्र बैंकले छाप्न थालेपछि भने रुपैयाँ भन्न थालिएको हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुष मसान्त सम्मको विवरण प्रकाशित गरेअनुसार अहिले नेपालमा ४ खर्ब ८० अर्ब २२ करोड रुपैयाँ छापिएको छ । जस मध्ये चलन चल्तीमा रहेका नोट जम्मा ४ खर्ब ७५ अर्ब ३६ करोड ३८ लाख ६४ हजार ४ सय ६० रुपैयाँ छ भने बैंकिङ अफिसमा रहेको नोट मौज्दात ४ अर्ब ८५ करोड ६१ लख ३५ हजार ५ सय ४० रुपैयाँ बराबर रहेको छ । नेपाल राष्ट्र बैंकले नोट छपाई गर्दा विदेशी मुद्रा तथा र सेक्युरिटी सम्पत्तिको रुपमा राख्ने गर्दछ । उक्त सम्पत्ति पनि ४ खर्ब ८० अर्ब २२ करोड रुपैयाँ बराबर नै छ ।