February 15th, 2019

नेपालको बैंकिङ क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरु

बैंकिङ खबर । पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । पछिल्लो पाँच वर्ष यता बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीकका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । 

बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सह जबनेको छ । लामो समय सम्म लाइन बस्नुपर्ने बाध्यता हटेको छ । 
इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नुपर्ने अवस्था पनि हटेको छ । यसले खर्च र समयको बचत भएको छ ।

भाइबर बैंकिङ
भाइबर प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर कतिपय बैंकहरुले भाइबर बैंकिङ सेवा दिइरहेका छन् । भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । ग्राहकले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । 

मल्टि करेन्सी कार्ड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक्सिस बैंक अफ इन्डियासँगको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टि करेन्सी कार्डको सुरुवात गरेको छ । यो कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्ने छन् । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई सजिलो हुने छ ।  

अनलाइन बैंक खाता 
अहिले अधिकांश बैंकहरुले अनलाइन बैंक खाता पनि संचालनमा ल्याएका छन ।  देश तथा विदेशमा रहेका ग्राहकहरुले अनलाइन बैंकिङ मार्फत सजिलै खाता खोल्न सक्ने छन् । यस्तो प्रकारको खाता शुन्य मौज्दातमा खोल्न सकिने छ । 

टेलि बैंकिङ सेवा 
फोनबाटै गरिने बैंकिङ कारोबार टेलि अर्थात टेलिफोन बैंकिङ हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गर्दछ । कुनै कुनै बैंकले ग्राहक हेरेर यस्तो सेवा दिइरहेका छन् । 

एटिएम मेसिन 
नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । तर, छोटै अवधिमा पनि एटीएमले लोकप्रियता कमाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा ३५ हजार एटीएम प्रयोगकर्ता थपिएको तथ्यांक छ । 

क्रेडिट कार्ड 
तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक क्रेडिट कार्ड भित्र्याएको थियो । अहिले पनि कतिपय बैंकहरुले क्रेडिट कार्डमार्फत सेवा दिइरहेका छन् । यो कार्डबाट निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सकिन्छ । अहिले खर्च गर पछि तिर्दै गए हुन्छ भन्ने उद्देश्यले कार्डको विकास भएको हो । नेपालमा कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म तोकिएको रकम बिना ब्याज पाउँछन् । 

डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन)बाट नगद निकल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । 

इन्टरनेट बैंकिङ 
इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर तथा मोबाइलबाट पाउन सक्ने छन् । ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न र प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बीलहरुको भुक्तानी गर्न इन्टरनेट बैंकिङबाट सकिन्छ । 

मोबाइल बैंकिङ 
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल बैँकिङ कारोबार सुरु गरेका छन् । मोबाइल एप्लिकेशनहरु मार्फत मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कामहरु गर्न सकिन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा पछिल्लो समय यसको प्रयोग बढेको छ । 

एसएमएस बैंकिङ 
एसएमएस बैंकिङ मोबाइल बैंकिङकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत विभिन्न जानकारी गराउने गर्दछन् । 

ब्रान्चलेस बैंकिङ 
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो । 

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवं फछर्याैट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । 

पस मेसिन
पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग बढेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]