बैंकिङ खबर । नेपाल धितोपत्र वोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा २०७३ माघ देखि काठमाण्डौ उपत्यकामा र मिति २०७४ श्रावण देखि नेपालभर आस्वा प्रणाली अनिवार्य रुपमा लागू गरिएको जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली सफल रुपमा कार्यान्वयन भैसकाले मुलुकभर लागु गर्न लागेको हो ।
आस्वा प्रणालीले सार्वजनिक निष्काशन प्रक्रियालाई छिटो छरितो सहज, पारदर्शी, स्वच्छ, प्रतिस्पर्धात्मक, लगानीमैत्री, निष्काशन वन्द भएको तीन दिनभित्रमा वाँडफाँट हुन सक्ने, दरखास्त साथ पेश गरिएको÷गरिने रकमको व्याज सम्वन्धित लगानीकर्ताले वैक खाता मार्फत स्वतः नै प्राप्त गर्न सक्ने साथै धितोपत्र बाँडफाँट भए पश्चात स्वत हितग्राहीको खातामा धितोपत्र जम्मा हुने भएकाले यसलाई अनिवार्य गरिएको वोर्डको भनाई छ ।
यसअघि धितोपत्रको सार्वजनिक निष्काशनमा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था थिएन् । जसका कारण स्थानीयहरुले दरखास्त दिन झन्झट वेहोर्नु परिरहेको थियो । धितोपत्र बाँडफाँट पछिपनि शेयर नपरेको रकम फिर्ता लिन तथा धितोपत्र प्रमाणपत्र लिनका लागि झण्झट बेहोर्नुपर्ने बाध्यता थियो ।
उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले तीन वर्ष सम्म सेयर विक्री गर्न नपाउने भएकाले त्यस अवधि सम्म डिम्याट खाताको र्वािर्षक नवीकरण शुल्क मिनाह गर्ने व्यवस्था समेत गरेको छ ।
आस्वा प्रणालीमार्फत देशका सबै जिल्लाका स्थानीय निकायवाट बैंक तथा वित्तीय संस्थाहरुले सेवा दिन सक्ने छन् । यस्तो व्यवस्थाबाट धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया थप लगानीमैत्री हुने विश्वास वोर्डले गरेको छ ।