May 29th, 2016

ओर्लियो शेयर बजार, १ अर्ब १८ करोडको कारोबार, १५२२.२५ अंकमा परिसूचक

economicसाताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । गत साता रेकर्डमाथि रेकर्ड बनाएर बजार बजेट भाषणको भोलिपल्ट २.८४ अंकले घटेर १५२२.२५ अंकमा कायम भएको छ । दिनभरिमा १ सय २५ वटा कम्पनिहरुको २१ लाख ७९ हजार ३ सय ८६ कित्ता शेयर ४ हजार ६ सय ६५ पटक किनबेच हुँदा कुल १ अर्ब १८ करोड ९ लाख ७४ हजार १ सय ७९ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम पनि गत साताको अन्तिम दिनको तुलनामा घटेको हो । 

कुल कारोबार रकममध्ये सिद्धार्थ इन्स्योरेन्सको ६ करोड ७६ लाख ८१ हजार ६ रुपैँयाको कारोबार हुँदा नेशनल हाइड्रोपावर कम्पनिको ६ करोड ४४ लाख रुपैँयाको कारोबार भएको छ । हिमालयन जेनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र एनबी बैँकको ५ करोडमाथिको कारोबार हुँदा युनाइटेड इनस्योरेन्सको ४ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको ३ करोड ८० लाख, लुम्बिनी जेनेरल इन्स्योरेन्सको ३ करोड ४५ लाख, सानिमा बैँकको ३ करोड ४२ लाख र नेपाल बैँकको ३ करोड ३८ लाख रुपैँयाको कारोबार भएको छ । 

लुम्बिनी जेनेरल इन्स्योरेन्स, नमस्ते वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैँक र मेगा बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मर्जर प्रक्रियाका कारण लामो समय कारोबार रोकिएको मेगा बैँकको आइतबारदेखि नै कारोबार सुचारु भएको हो । प्रभु इनस्योरेन्स, रिडी हाइड्रोपावर, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतले पनि कमाएका छन् । गुमााउनेमा नबिल ब्यालेन्स फन्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १, महाकाली विकास बैँक, एनआईबीएल समृद्धि फन्ड १, गुडविल फाइनान्स, युनाइटेड फाइनान्स, साझा विकास बैँक, लक्ष्मी भ्यालु फन्ड १ लगायत छन् ।

वाणिज्य बैँक, विकास बैँक र फाइनान्स समूह क्रमशः ८.७२, ९.०८ र ३.२७ अंकले घट्दा होटल, जलविद्युत् र बिमा समूह क्रमशः १२, ७५.९२ र ३८.२५ अंकले बढेका छन् । अन्य समूह स्थिर रहेको छ ।